राजनीति

विदेशमा ज्यान गुमाएका नेपालीको शव ल्याउन कूटनीतिक पहल गर्न सांसदहरूको माग

४ चैत, काठमाडौँ । विदेशमा कार्यरत नेपालीको जीउधनको सुरक्षाको प्रत्याभूति र त्यहाँ ज्यान गुमाएकहरुको शव स्वदेश फिर्ता ल्याउन कूटनीतिक पहलका लागि सांसदहरूले सरकारसँग माग गरेका छन्। 

प्रतिनिधिसभाको आजको बैठकमा सांसद माधव सापकोटाले सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–८ का सुमिना तामाङको वैदेशिक रोजगारीका क्रममा इराकमा मृत्यु भएको र शव नेपाल झिकाउनका लागि आवश्यक कानुनी र कूटनीतिक प्रक्रिया अघि बढाउन माग गरे। 

सांसद डा चन्दा कार्की भण्डारीले पछिल्लो नौ दिनमा देशका विभिन्न स्थानमा १५ जनाको शव फेला परेको उल्लेख गर्दै सुरक्षा व्यवस्थामा गम्भीर कमजोरी देखिएको बताईन । उनले हरेक तीन दिनमा औसत पाँच जनाको हत्या भइरहेको दाबी गरिन ।