आर्थिक

नागरिक लगानी कोषको ३५ औं वार्षिकोत्सव सम्पन्न

४ चैत, काठमाडौं । नागरिक लगानी कोषको ३५ औं वार्षिकोत्सव सोमबार सम्पन्न भएको छ। सो अवसरमा बोल्दै अर्थ सचिव घनश्याम उपाध्यायले कोषले राष्ट्रिय प्राथमिकताका पूर्वाधार निर्माण एवं उत्पादनशील क्षेत्रमा कर्जा विस्तार गरी अर्थतन्त्रमा योगदान पु¥याउनुपर्नेमा जोड दिए।

कोषले आम नागरिकलाई कसरी संलग्न गराउने भन्ने विषयमा थप काम गर्नुपर्ने बताउँदै उनले सामाजिक सुरक्षाका क्षेत्रमा कोषले अझ व्यापक भूमिका खेल्नुपर्ने आवश्यकता औंल्याए। उनले आगामी दिनमा नागरिकको हितमा कोषले काम गर्ने विश्वास व्यक्त गरे।

रोजगारी सिर्जना र आर्थिक वृद्धिमा योगदानको आवश्यकता

कोष सञ्चालक समितिका अध्यक्ष प्रा डा सूर्य बहादुर थापाले उच्च आर्थिक विकासमार्फत मात्र बेरोजगारी समस्या समाधान गर्न सकिने बताउँदै दिगो विकास र स्थायित्वलाई प्राथमिकता दिनुपर्ने धारणा व्यक्त गरे। उनले कृषि, पर्यटन, ऊर्जा र पूर्वाधार निर्माणजस्ता उत्पादनशील क्षेत्रमा लगानी विस्तार गर्दै आर्थिक वृद्धिदरमा टेवा पु¥याउने लक्ष्य रहेको जानकारी दिए ।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै कोषका कार्यकारी निर्देशक पर्वत कुमार कार्कीले २ करोड ४४ लाख रुपैयाँको चुक्ता पुँजीबाट सुरु भएको कोषको हाल चुक्ता पुँजी ६ अर्ब ४८ करोड १७ लाख रुपैयाँ पुगेको जानकारी दिए। करिब ७ लाख सहभागीलाई लक्षित गरी सरल तथा डिजिटल सेवामा प्राथमिकता दिइएको उनले बताए।

लगानी विस्तार र आर्थिक प्रभाव

कोषले लगानी विविधीकरणका लागि कर्जा तथा लगानी नीतिमा केही परिमार्जन गरेको र आवश्यकतानुसार आगामी दिनमा थप परिमार्जन गर्दै सरकारी प्राथमिकताका पूर्वाधार निर्माण, कृषि, उद्योग, पर्यटन तथा उत्पादनशील क्षेत्रमा लगानी विस्तार गरिने कार्यकारी निर्देशक कार्कीले जानकारी दिए। चालु आर्थिक वर्षको पुस मसान्तसम्म कोषको वित्तीय स्रोत २ खर्ब ७३ अर्ब रुपैयाँ पुगेको छ भने २ खर्ब ६४ अर्ब रुपैयाँ विभिन्न लगानीमा परिचालित भएको छ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले कोषहरूको लगानी उत्पादनमूलक क्षेत्र र रोजगारी प्रवर्द्धनका लागि परिचालन गर्नुपर्नेमा जोड दिए । उनले बैंक तथा वित्तीय संस्थाहरूमा रहेको कोषको ठूलो रकम रोजगारी सिर्जना र पूर्वाधार निर्माणमा लगाउनुपर्ने धारणा राखे।

कार्यक्रममा कोषका पूर्वअध्यक्ष डा भोजराज घिमिरेले कम जनशक्तिले २ खर्ब ७३ अर्ब रुपैयाँको फण्ड व्यवस्थापन गर्नु ठूलो उपलब्धि भएको बताउँदै संस्थाको थप प्रवर्द्धन आवश्यक रहेको उल्लेख गरे। साथै, नेपाल वित्तीय संस्था कर्मचारी संघका अध्यक्ष अच्युतम पौडेल र नागरिक लगानी कोष कर्मचारी युनियनका अध्यक्ष नेत्र विक्रम थापाले कोष व्यवस्थापन र नीति निर्माणमा ध्यान दिनुपर्ने आग्रह गरे।