अन्तर्राष्ट्रिय

इजरायलले फेरी गर्‍यो गाजा क्षेत्रमा भीषण हमला 

 ५ चैत, काठमाडौँ । इजरायलले गाजा क्षेत्रमा फेरि हमला गर्दा ३४ जनाको मृत्यु भएको छ भने कयौं घाइते छन् । इजरायली सेनाले विज्ञप्ति मार्फत हमासको क्याम्पहरूलाई लक्षित गरी आक्रमण गरेको बताएको छ। 

रोयटर्सले चिकित्सक र प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै मध्य गाजाको देर अल बलाहका तीन घरलाई इजरायली सेनाले निशाना बनाएको जनाएको छ । यसका साथै खान युनिस र सफाहका भवनहरुमा पनि आक्रमण भएको छ ।

यी हमलामा ३४ प्यालेस्टिनीको मृत्यु भएको र ७० जना घाइते भएको गाजाको सिभिल डिफेन्स एजेन्सीले जनाएको छ ।

गाजामा सन् २०२५ को १९ जनवरीदेखि युद्धविराम कार्यान्वयनमा आएको थियो । पहिलो चरणको युद्धविराम १ मार्चदेखि समाप्त भएको थियो । दोस्रो चरणको युद्धविरामको प्रयास भइरहेका बेला इजरायलले हमास लक्षित आक्रमण गरेको हो । बिबिसीले यो आक्रमणलाई युद्धविरामयताको सबैभन्दा ठुलो हमला भनेको छ ।