राजनीति

स्थगित गरिएको माओवादी केन्द्रको तराई-मधेस जागरण अभियान आजबाट पुनः सुरु

६ चैत, काठमाडौँ । स्थगित गरिएको नेकपा माओवादी केन्द्रको तराई मधेस  जागरण अभियान आजबाट पुनः  सुरु हुने भएको छ । उक्त अभियान माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आज बाराबाट सुरु गर्न लागेका हुन्। 

अपराह्न चार बजे अभियान टोली सहित अध्यक्ष दाहाल बारा पुग्ने बताइएको छ। त्यसपछि आजैबाट कार्यक्रमहरू सुरु हुनेछन् ।  एक दिन एक जिल्लामा बिताउने र जनतासँग भेटघाट गर्ने अभियान माओवादी केन्द्रको रहेको छ। 

गत फागुन १२ गते झापाको कचनकवलबाट सुरु भएको अभियान २४ फागुनमा राजावादीहरूको सक्रियता र आन्दोलनका कारण भन्दै एक्कासी स्थगित गरिएको थियो ।

पूर्वपश्चिम राजमार्ग र हुलाकी मार्गमा केन्द्रित माओवादी केन्द्रको जागरण अभियान बिचबिचमा विश्राम गर्दै अघि बढ्ने छ र सुदूरपश्चिमको कञ्चनपुर पुगेर सम्पन्न हुनेछ ।