राजनीति

नेपालको अन्तिम राजा ज्ञानेन्द्र शाह हुन्, अब राजतन्त्र कुनै हालतमा फर्किँदैन : काँग्रेस सांसद निधि 

६ चैत, काठमाडौँ । नेपाली काँग्रेसका सांसद विमलेन्द्र निधिले राजतन्त्र कुनै हालतमा नफर्किने बताएका छन्।  आज बसेको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै निधिले साधुसन्तले भनेर देशमा राजतन्त्र नफर्किने दाबी गरेका हुन्। 

‘देशी-विदेशी साधुसन्तले भनेर नेपालमा यो आउँछ त्यो आउँछ कसैले सोच्छ भने नसोचे हुन्छ, स्मरण गरौँ, हामीले यही संविधान जारी गर्ने बेलामा तथाकथित नाकाबन्दी भएको थियो। हामीलाई रोक्न पनि खोजिएको थियो। हामी चाहिँ आफ्नै नेपाल र नेपाली फस्टलाई हामी आफैँले प्रयोगबाट प्रमाणित गरेका छौँ।’ 

उनले नेपालको अन्तिम राजा ज्ञानेन्द्र शाह भएको बताउँदै कुनै पनि हालतमा राजतन्त्र नफर्कने दाबी गरेका छन्। जनताले राजतन्त्र नचाहेको र जनताको विरुद्धमा गए आफूहरू जे पनि गर्न तयार रहेको चेतावनी समेत दिए।

राजाहरूले नेपाली जनताको अधिकार खोसेर शासन चलाएको उनको भनाइ छ । 

‘हामीले ल्याएको प्रणाली कसैले दानमा दिएको होइन, नेपालमा हामीले सङ्घीयता र गणतन्त्रको प्रणाली सार्वभौम जनताको अधिकार प्रयोग गर्नका लागि ल्याएका छौँ । नेपालमा हामीले थरीथरीका राजतन्त्र हेरिसकेका छौँ,’उनले भने।  ‘पृथ्वीनारायण शाहको राजतन्त्रको मोडल पनि हेरेका छौँ, त्रिभुवन राजाको मोडल पनि हेरेका छौँ । बालक ज्ञानेन्द्रको राजतन्त्रको मोडल पनि हेरेका छौँ । त्यसपछि वीरेन्द्र र ज्ञानेन्द्रको पटक पटक अधिकार खोसेर गरेको मोडल पनि हेरेका छौँ । राजतन्त्रको दुष्परिणाम त हेरिसकेका छौँ ।’ निधिको भनाइ थियो।