६ चैत, काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले साँझको समयमा लोडसेडिङ हुने अवस्था आएको बताएका छन्। राष्ट्रिय सभाको आज बसेको बैठकमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै उनले उद्योगको लाइन काटेर घर घरमा विद्युत् दिएपछि कुलमानले लोडसेडिङ अन्त्य भएको हल्ला फैलाएको आरोप समेत लगाए हुन्।
मन्त्री खड्काले अहिले पनि भारतबाट ८ सय २५ मेगावाट विद्युत् आयात गरेका कारण लोडसेडिङ हटेजस्तो देखिएको बताए। हाल भारतबाट आयातित विद्युत्का कारण आपूर्ति धानिरहेको जिकिर गरे। भारतबाट विद्युत् आयात गरेर कृत्रिम रूपमा लोडसेडिङ अन्त्य गरिए पनि अब भने थेग्न सक्ने अवस्था नरहेको मन्त्री खड्काको भनाइ छ।
‘हिजो पनि लोडसेडिङ थियो, आज पनि छ । हिजो पनि उद्योगधन्दातिर बत्ती कटौती गरेर घरतिर दिने काम गरिएको थियो, आज पनि त्यही छ । अहिले पनि ८ सय २५ मेगावाट विद्युत् भारतबाट आयात भइरहेको छ,’ ऊर्जामन्त्री खड्काले अघि भने, ‘हामीसँग पुगनपुग १ हजार मेगावाट विद्युत् छ । अब साँझको समय घरमै पनि लोडसेडिङ हुने अवस्था छ । निजी क्षेत्र र भारतबाट आयात गरेको विद्युत्ले गर्दा लोडसेडिङ हटेजस्तो अनुभूति भएको छ ।’
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ उज्यालो नेपालको नायक नभएको मन्त्री खड्काको दाबी थियो।
‘सरकारको शतप्रतिशत लगानी रहेको विद्युत् प्राधिकरणले ७०० मेगावाट मात्रै उत्पादन गरेको छ । २८०० मेगावाट विद्युत् निजी क्षेत्रले उत्पादन गरेको छ । आज पनि विद्युत् आपूर्ति हुन सकेको छैन,’ खड्काले भने, ‘त्यस कारण उज्यालोको नायक भनेको उहाँ होइन है । बरु यो धन्यावाद भारतलाई दिउँ निजी क्षेत्रलाई दिउँ , जसले हाम्रो आवश्यकता पूर्ति गरेको छ त्यता धन्यावाद दिउँ न भनेर निवेदन गर्न चाहेको हो ।’
मन्त्री खड्काले प्राधिकरण नाफा नगएको दाबी गरे। महालेखा परीक्षकको कार्यालयको प्रतिवेदनमा २ खर्ब रुपैयाँभन्दा बढी घाटा देखाएको मन्त्री खड्काले जानकारी दिए।