७ चैत, काठमाडौँ । आज देशभर माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइईको पहिलो दिनको परीक्षा सम्पन्न भएको छ। पहिलो दिन अङ्ग्रेजी विषयको परीक्षामा सम्पन्न भएको हो।
काठमाडौँको रत्नराज्य माध्यमिक विद्यालयमा पनि आज एसइईको पहिलो दिनको परीक्षामा सयौँ भाइबहिनीहरू सहभागी बनेका छन्। सहभागी विद्यार्थीहरूले आजको परीक्षा निकै राम्रो भएको प्रतिक्रिया दिए। काठमाडौँकै सारदा सेकेण्डरी स्कुलबाट परीक्षामा सहभागी हुन आएकी छात्रा सदिक्षा मगरले पहिलो दिनको अनुभव निकै नै राम्रो रहेको सुनाइन।
उनले एसइई परीक्षामा राम्रो जिपिए ल्याएर पास गर्ने पहिलो लक्ष रहेको बताइन। सुर्यखरबसँग कुरा गर्दै उनले भनिन् ‘सकेसम्म राम्रो जिपिए ल्याउने र होटेल म्यानेजमेन्ट विषय लिएर पढ्ने योजना छ।,’ त्यस्तै सहभागी अन्य विद्यार्थीहरूले आ-आफ्नो फरक-फरक योजना रहेको बताए।
आज देखि देशभरका दुई हजार ७९ परीक्षा केन्द्रबाट एसइई परीक्षा संचालन भइरहेको छ। यस वर्षको एसइईमा पाँच लाख १४ हजार ७१ परीक्षार्थी सहभागी छन् ।
गत वर्षको तुलनामा यस वर्षको परीक्षामा ४९ हजार २८६ जना बढी परीक्षार्थी सहभागी छन् । गत वर्षको एसइईमा चार लाख ६४ हजार ७८५ परीक्षार्थी सहभागी थिए ।



