८ चैत, काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले २०८४ सालसम्म प्रधानमन्त्री नहुने बताएका छन्। हुलाकी राजमार्ग केन्द्रित तराई-मधेस जागरण अभियान अन्तर्गत वीरगन्ज पुगेका दाहालले सञ्चारकर्मीहरूसँग कुरा गर्दै आफू प्रधानमन्त्रीको दौडमा नरहेको बताएका हुन्।
उनले आफू २०८४ सम्म जनताकै साथमा रहने र प्रधानमन्त्रीको दौडमा नरहने प्रष्ट पारे।
अध्यक्ष दाहालले आफु नेतृत्वको सरकार ढालेर वर्तमान सरकार भ्रष्टाचारीहरूलाई जोगाउनका लागि बनेको आरोप लगाए ।
‘मेरो नजरमा ओली सरकारको काम नराम्रो छ । उहाँहरूको काम भनेको भ्रष्टाचारीलाई बचाउने मात्रै छ । राम्रो काम गर्नेहरूलाई सताउने, अपमानित गर्ने, नराम्रो काम गर्नेलाई पुरस्कृत गर्ने नै केपीजीको सरकारको काम हो । त्यो कुरा कुलमानको कुराबाट सजिलै बुझ्न सक्नुहुन्छ,’ उनले भने ।
वर्तमान सरकारले भ्रष्टाचारी जोगाउने, बेथिति र अराजकता बढाउने काम गरिरहेको अध्यक्ष दाहालको आरोप छ।
‘लेखा समितिको सभापति प्रमुख प्रतिपक्षी माओवादीले पाउनुपर्ने हो, त्यो छैन । लेखा समितिको सभापतिलाई ठुला ठुला आरोप लागेका छन्, तपाईँहरूलाई थाहा छ, उहाँलाई चोख्याउनको लागि प्रधानमन्त्रीले पूरै तागत लगाउनुभएको छ’ उनले भने, ‘उहाँको काम भ्रष्टाचारी जोगाउने, बेथिति र अराजकता बढाउने भएको छ ।’