अन्तर्राष्ट्रिय

अमेरिकी धम्की अर्थहीन : खामेनी

८ चैत, तेहरान । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध सम्भावित सैन्य कारबाहीको चेतावनी दिएपछि इरानका सर्बोच्च नेता आयातोल्लाह खामेनीले आफ्नो देशविरुद्ध अमेरिकी धम्की ‘अर्थहीन’ भएको बताएका छन् ।

अयातोल्लाह अली खामेनीले फारसी नयाँ वर्ष नौरुजको अवसरमा टेलिभिजनमा प्रत्यक्ष सम्बोधन गर्दै भने, “अमेरिकीहरूले थाहा पाउनुपर्छ कि इरानविरूद्धको धम्कीले ‘उनीहरूलाई कहीँ पनि पु¥याउँदैन’ ।”

उनले भने, “ यदि उनीहरूले इरानविरूद्ध केही गरे भने उनीहरूलाई कडा झापड लाग्नेछ भनी अमेरिकी र उसका अन्य सहयोगीले कुरा बुझ्नुपर्छ ।”

गत मार्च ७ मा ट्रम्पले खामेनीलाई पत्र लेख्दै तेहरानको आणविक कार्यक्रमबारे वार्ता गर्न आग्रह गरेको र तेहरानले अस्वीकार गरेमा सम्भावित सैन्य कारबाही गर्ने चेतावनी दिएका थिए ।

बिहीवार विदेशमन्त्री अब्बास अराघचीले उक्त पत्र ‘खतराको विषय’ भएको तर यसले अवसर प्रदान गर्ने पनि बताएका थिए ।

अराघचीले तेहरानले आफ्नो प्रतिक्रियाबारे विचार गरिरहेको र आगामी दिनमा सार्वजनिक गरिने बताए ।

बुधबार अमेरिकी समाचार वेबसाइट एक्जिओसले एक अमेरिकी अधिकारी र अन्य स्रोतलाई उद्धृत गर्दै ट्रम्पको पत्रले ‘नयाँ आणविक सम्झौतामा पुग्नका लागि दुई महिनाको समयसीमा’ तोकेको जनाएको छ ।

यसले दुई महिनाको अवधिको सुरु वा अन्त्य मिति निर्दिष्ट गरेको छैन।

खामेनीले यसअघि पनि ट्रम्पले वार्ताका लागि गरेको प्रस्तावलाई अस्वीकार गर्दै अमेरिकी राष्ट्रपति ट्रम्पले संयुक्त राज्य अमेरिकालाई वार्तागर्न इच्छुक र इरानलाई संलग्न हुन अनिच्छुक भनेर चित्रित गरेर विश्वव्यापी जनमतलाई धोका दिन खोजेको आरोप लगाएका थिए ।

जनवरीमा आफ्नो दोस्रो कार्यकाल सुरु गरेका ट्रम्पले तेहरानविरुद्ध ‘अधिकतम दबाब’ दिने आफ्नो नीतिलाई पुनः स्थापित गरेका छन्।