राजनीति

यो सरकार उल्टो बाटो हिँडिरहेको छ बढी नै खबरदारी गर्नुपर्ने भयो : अध्यक्ष दाहाल 

८ चैत, काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आगामी १५ गते काठमाडौँमा हुने जनप्रदर्शनमा सहभागी हुन सर्वसाधारणलाई आग्रह गरेका छन्। पर्साको ठोरी गाउँपालिकामा आयोजित जनसभालाई सम्बोधन गर्ने क्रममा अध्यक्ष दाहालले १५ गते गरिने प्रदर्शनले देशको राजनीति सही ट्र्याकमा आउने आधार तय हुने दाबी गरेका हुन। 

उनले उक्त सभा सङ्घीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा हुने भन्दै सभामा सहभागी हुन सर्वसाधारणलाई आग्रह गरेका हुन् ।

कार्यक्रम उनले भने ‘यो सरकार उल्टो बाटो हिँडिरहेको छ । त्यस कारण सरकारलाई बढी नै सजक गराउनुपर्ने खबरदारी गर्नुपर्ने आवश्यकता छ । त्यसमा तपाईँहरू पनि ठुलो सङ्ख्यामा उपस्थित हुन आग्रह गर्दछु, यो आउँदो १५ गते,’।

 चैत १५ गते गर्ने विरोधसभा पछि देशको राजनीति सही ट्र्याकमा आउने आधार बन्ने अध्यक्ष दाहालको भनाइ छ।

उनले भने, ‘फेरि एकचोटी जनताको पक्षमा काम गर्ने वातावरण बन्ने विश्वाससहित तपाईँहरू सबैलाई बढीभन्दा बढी सङ्ख्यामा काठमाडौँ आउन आग्रह गर्छु ।’

माओवादी केन्द्र लगायत ४ राजनीतिक दलहरू सम्मिलित समाजवादी मोर्चाले लोकतान्त्रिक गणतन्त्र र संविधानको पक्षमा चैत १५ गते जनप्रदर्शन  सहितको  विरोध सभा गर्ने यसअघि नै निर्णय गरेका थिए।