लुम्बिनी

बाँकेमा डढेलो नियन्त्रणका अभ्यास

८ चैत, नेपालगञ्ज । डढेलो नियन्त्रणका लागि बाँकेका विभिन्न स्थानमा स्थानीय समुदायलाई डढेलो नियन्त्रणका अभ्यास गराइएको छ ।

वनसँग जोडिएर बसेका समुदायलाई लक्षित गरेर जनचेतना फैलाउने उद्देश्यले त्यस्तो अभ्यास गराइएको जिल्ला वन कार्यालय, बाँकेका सूचना अधिकारी टङ्क गुरूङले जानकारी र्दिए ।

“हामीले फिल्डमा गएर आगो लगाएर उपकरणको प्रयोगमार्फत आगो नियन्त्रणको विधि सिकाइएको छ”, उनले भने ।

गुरूङले जिल्लाका नरैनापुर, राँझा, शमशेरगञ्ज र सिक्टाका वन क्षेत्रमा सो अभ्यास भएको उल्लेख गर्दै डढेलो नियन्त्रणका लागि सप्ताहव्यापी कार्यक्रम गरेको जानकारी दिए ।

उनले जिल्लास्थित सामुदायिक वन उपभोक्ता महासङ्घको समन्वयमा कार्यक्रम भइरहेको जानकारी दिँदै एक सय १८ सामुदायिक वनलाई चार कल्स्टरमा विभाजन गरेर कार्यक्रम गरेको बताए ।

यसबाहेक डढेलो लाग्न नदिन वनका पातपतिङ्गरको सरसफाइ, अग्निरेखा निर्माणलगायतका जनचेतानमूलक कार्यक्रम सञ्चालन भएको गुरूङले बताए ।

सवडिभिजन वन कार्यालय, शमशेरगञ्जका प्रमुख मनोज लम्सालले डढेलो नियन्त्रणका लागि अग्नि नियन्त्रकजस्ता चार महिनाका लागि नियुक्त गरेर वनमा सरसफाइलगायत कार्य भएको उल्लेख गर्दै डढेलो नियन्त्रणका विधि सिकाइएको बताए । यसको मुख्य उद्देश्य समुदायलाई डढेलो नियन्त्रण गर्न जागरूक बनाउनु हो उनले भने ।

सामुदायिक वन उपभोक्ता महासङ्घ, बाँकेका अध्यक्ष सावित्रा पुनमगरले जिल्लामा डढेलोका कारणले चिन्ताजनक स्थिति रहेकाले पछि परेका समुदायलाई चेतना जागृत गर्न यस्ता कार्यक्रम फलदायी हुने विश्वास व्यक्त गरे ।

उनले वनसँग जोडिएका गाउँघरमा जथाभावी रूपमा प्रज्वलशील पदार्थ नफाल्न आग्रह गरिएको उल्लेख गर्दै डढेलो नियन्त्रणका लागि चेतनामूलक कार्यक्रम आवश्यक भएको बताए । गत वर्ष बाँकेका विभिन्न सामुदायिक वन र चक्ला वनको करिब पाँच हजार एक सय ३३ हेक्टर क्षेत्रफलमा डढेलो लाग्दा ठूलो क्षति भएको थियो । डढेलोका कारण पशु चौपायाका साथसाथै सर्प, खरोयो र विभिन्न प्रजातिका चरा मरेका थिए ।