राजनीति

म जीवित रहँदासम्म पुन:राजतन्त्र फर्किने सपना पुरा हुँदैन : अध्यक्ष दाहाल

९ चैत, काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफू जीवित रहँदासम्म नेपालमा पुन:राजतन्त्र फर्काउन नदिने बताएका छन्। उनले आज तराई–मधेस जागरण अभियानअन्तर्गत चितवनको भरतपुरमा आयोजित सभालाई सम्बोधन गर्दै यस्ता सपना पूरा गर्न नदिने ठोकुवा गरेका हुन्। 

पूर्वप्रधानमन्त्री समेत रहेका दाहालले अहिलेकै संविधानलाई सफल बनाउने र राजतन्त्रलाई परास्त गरिरहने बताए। 

‘हामीले सम्पूर्ण रूपमा परास्त गर्ने छौँ, हामीले हाम्रो जीवनकालमा संविधानलाई सफल बनाउनु छ।’

उनले नेपालको वर्तमान संविधानलाई अझ बलियो बनाएर कार्यान्वयनमा जानका लागि कार्यकारी राष्ट्रपति प्रणालीमा जानुपर्ने धारणा राखेका थिए। 

माओवादीलाई बिचौलियाले विभिन्न प्रपञ्च रचेर सरकारबाट हटाएको आरोप लगाए।

उनले भने,’बिचौलियाले अनेक प्रपञ्च गरेर हामीलाई सरकारबाट बाहिर पठाए। तर बाहिर आउँदा जनताले हामीप्रति नयाँ अनुभूति लिन थालेको पाएको छु, केन्द्रीय समितिको बैठकले गम्भीर समीक्षा गरेर हामीलाई लागेको उपचार डाक्टरले गर्न सक्दैन। हामीलाई लागेको रोगको डाक्टर जनता हो भन्ने सङ्कल्पसहित जनतामाझ आयौँ।’