शिक्षा

११औँ पटक विज्ञापन गर्दा पनि पाइएन सरकारी स्कुलमा शिक्षक, १२औँ पटक विज्ञापन खुलाइयो 

९ चैत, काठमाडौँ।  ओखलढुङ्गाको  एक विद्यालयले १२ औँ पटक विज्ञान विषयको शिक्षकको लागी सूचना जारी गरेको छ।  यस अघिका ११ औँ पटक सूचना जारी गरे पनि शिक्षक पाउन नसकेको हो ।

जिल्लाको चिसंखु गढी गाउँपालिका वडा नम्बर २ पोखरेको सरस्वती माध्यमिक विद्यालय खानिभनज्याङ्गले यस अघिका ११ औँ पटक प्रयासमा पनि विज्ञान शिक्षकको आवेदन नपरे पछि पुनः १२ औँ पटक सूचना जारी गरेको छ । 

उक्त विद्यालयका प्रधानाध्यापक चन्द्र बहादुर भुजेलले माध्यमिक तह तृतीय श्रेणीको करार अस्थायी कोटामा  विज्ञान विषयको शिक्षक पद रिक्त रहेकाले योग्यता पुगेका इच्छुक व्यक्तिहरूले ७ दिन भित्र निवेदन दिन विज्ञापन खुला गरेको जनाए। 

सुर्यखबरसँग कुरा गर्दै प्रधानाध्यापक भुजेलले स्थानीय स्तरमा शिक्षक नपाएकाले फेरी १२ औ पटक अस्थायी कोटामा विज्ञापन खुल्ला गरिएको बताए।  उनले अनिवार्य विज्ञान विषय पढेको र शिक्षक लाइसेन्स प्राप्त गरेको हुनु पर्ने भनिए पनि शिक्षक नपाएकाले लाइसेन्स नभएकालाई पनि राख्न सकिने बताए। 

कम्तीमा पनि बीएसी पास गरेको हुनुपर्ने तर शिक्षक लाइसेन्स अनिवार्य नभएको प्रधानाध्यापक भुजेलको भनाइ छ। 

 उनका अनुसार ४३,६८९ रुपैयाँ तलब सुविधा र महँगी भत्ता २ हजार थप हुने समेत जानकारी दिए। 

भुजेलले स्थायी शिक्षक आएपछि स्वतः करार नियुक्त गरिएको शिक्षक हट्नु पर्ने भएकाले आकर्षण नभएको हुन सक्ने बताए ।