११ चैत,काठमाडौँ। नेकपा एमाले हालै सम्पन्न भएको सचिवालय बैठकका बारेमा नेपाली र विदेशी मिडियाहरूमा आएका समाचार प्रति आपत्ति जनाएको छ। पार्टी महासचिव शङ्कर पोखरेलले आज एक विज्ञप्ति जारी गर्दै पूर्व राजावादीहरूको आन्दोलनका बारेमा केही सञ्चारमाध्यममा आएका समाचार प्रति पार्टीको गम्भीर ध्यानकर्सण भएको जनाएको हो।
पूर्व राजावादीहरूको विषयमा प्रधानमन्त्रीले भनेको भनेर आएका समाचार प्रति एमालेले आपत्ति जनाउँदै निराधार र अतिरञ्जित भएको बताएको छ।
‘नेपालको संविधान र हामीले अवलम्बन गरेको लोकतान्त्रिक गणतन्त्र नेपाली जनताको सार्वभौम चयनको विषय हो । संसारका कुनै पनि लोकतान्त्रिक मुलुक र जनता लोकतन्त्रका ठाउँमा निरङ्कुशतन्त्र प्रश्रय दिन सहमत हुन सक्दैनन् भन्ने कुरामा हामी स्पष्ट छौँ । इतिहासको पाङ्ग्रालाई पछाडि फर्काउने कुनै पनि प्रयासलाई नेपाली जनताले सहजै विफल पार्छन् भन्ने कुरामा हामी विश्वस्त छौँ ।’ जारी विज्ञप्तिमा भनिएको छ।
