१३ चैत, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापतिद्धय डोलप्रसाद अर्याल र स्वर्णिम वाग्लेले आफ्नो पार्टी गणतन्त्र प्रति प्रतिबद्ध रहेको बताएका छन्। आज विपक्षी दलहरूको बैठकमा रास्वपाको शासन व्यवस्थाप्रतिको प्रतिविद्धताबारे माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले चासो राखेपछि उपसभापतिद्धय अर्याल र वाग्लेले यस्तो बताएका हुन्।
माओवादी केन्द्रको संसदीय दलको कार्यालय सिंहदरबारमा विपक्षी दलहरूको बैठक बोलाइएको थियो । उक्त बैठकमा माओवादी केन्द्रका अध्यक्ष दाहाल,वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपमहासचिव शक्ति बस्नेत, प्रमुख सचेतक हितराज पाण्डे , रास्वपाका उपसभापतिद्धय अर्याल, वाग्ले र प्रमुख सचेतक सन्तोष परियार सहभागी थिए।
त्यस्तै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे, नेसपा अध्यक्ष महिन्द्र राय यादव लगायतका नेताहरू उपस्थित थिए ।
बैठकमा माओवादी केन्द्रका अध्यक्ष दाहालले शासन व्यवस्थाप्रति रास्वपाको धारणा के हो भनेर प्रश्न उठेको र समाजमा कुराकानी हुने गरेको भन्दै विषय निकालेको एक नेताले बताए। दाहालले रास्वपा वर्तमान सङ्घीय लोकतान्त्रिक गणतन्त्रप्रति प्रतिबद्ध रहेको सुरुदेखि नै लाग्दै आएको तर, समाजमा कतिपयमा आशङ्का वा जिज्ञासा रहेको भन्दै विषय प्रवेश गराएपछि रास्वपाका नेताहरूले आफूहरू गणतन्त्रप्रति प्रतिबद्ध रहेको जवाफ दिएका थिए।
रास्वपाका उपसभापतिद्धय अर्याल, वाग्लेले जलेश्वर बैठकबाट शासन व्यवस्थाबारे रास्वपाको धारणा आम रूपमै सार्वजनिक गरेको बताएका थिए। उनीहरूले आफूहरू गणतन्त्रप्रति प्रतिबद्ध रहेको र यसमा कसैले शङ्का गर्नुपर्ने कारण नरहेको बताए । शासन सञ्चालनमा रहेका पात्रका सम्बन्धमा प्रश्न गर्नु भनेको व्यवस्थाको विरोध गर्नु नभएको साथै देशमा गणतन्त्रको विकल्प नरहेको उनीहरूको भनाइ रहेको थियो।
आफूहरू गणतन्त्रप्रति प्रतिबद्ध र प्रष्ट रहेको रास्वपा नेताहरूको दाबी रहेको छ।