१३ चैत, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ राजनीतिक राष्ट्रिय स्वतन्त्र पार्टीलाई गलत नगर्न र सही बाटोमा हिँड्न सुझाव दिएका छन्।
आज काठमाडौँमा युवा सङ्घको स्वयं सेवक भेला कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले नयाँ राजनीतिक दलहरू सिक्दै अघि बढिरहेको र नेकपा माओवादी केन्द्रको पछि नलाग्न भनेका हुन्। राष्ट्रिय स्वतन्त्र पार्टीलाई लक्षित गर्दै उनले कसैका पछि नलागी,गलत नगरी सही बाटोमा हिँड्न सुझाएका हुन्।
प्रधानमन्त्री ओलीले नेकपा माओवादी केन्द्रप्रति लक्षित गर्दै हतियार उठाएर थाकेका, क्रान्ति गर्छु भनेर उपद्रो मच्चाएका थकित तत्त्वहरूको संज्ञा दिँदै नयाँ राजनीतिक दलहरूलाई त्यस्ताको पछि नलाग्न पनि आग्रह गरे।
उनले भने,‘अहिले केही नयाँ निस्किन खोजेका छन्, सिक्दै छन्। गलत नगर्न, सही बाटोमा हिँड्न नयाँहरूलाई पनि मेरो सुझाव छ, ती हतियार उठाएर थाकेका, क्रान्ति गर्छु भनेर उपद्रो मच्चाएर, कति मान्छे मारेर, विध्वंस मच्चाएर थाकेका, थकित तत्त्वहरूको पसिना पुछ्न किन जानुपर्यो?’
अहिले माओवादी र रास्वपा प्रतिपक्षी दल हुन्। उनीहरू विभिन्न एजेन्डामा सँगै भएको प्रति प्रधानमन्त्री ओलीको यस्तो भनाइ आएको हो।