अन्तर्राष्ट्रिय

ट्रम्पले भने: चीनले टिकटक बेचे भन्सार शुल्क घटाउँछु 

१४ चैत, काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सर्वाधिक रुचाइएको टिकटक एप चीनले बिक्री गरे भन्सार शुल्क घटाउने प्रस्ताव राखेका छन्। 

बिबिसीले जनाए अनुसार चीनले टिकटक बिक्री प्रक्रिया सुनिश्चित गरे अमेरिकाले चीनमाथि लगाइएको भन्सार शुल्क घटाउन तयार रहेको छ। टिकटक चिनियाँ कम्पनी बाइटडान्स स्वामित्वको सर्वाधिक रुचाइएको एप हो । जुन विश्वभरिका मानिसहरूले प्रयोग गर्दै आएका छन्। 

ट्रम्पले टिकटक खरिद गर्ने कुनै गैर-चिनियाँ खरिदकर्तालाई खोज्न ५ अप्रिलको समयसीमा लम्ब्याउने भएका छन् ।

यसअघि पूर्व राष्ट्रपति जो बाइडेन प्रशासनअन्तर्गत टिकटकमा प्रतिबन्ध लगाउने एक कानुन पारित भएको थियो। तर, ट्रम्पले जनवरीमा सत्ता सम्हालेपछि उक्त कानुन लागू गरेका छैनन्। 

राष्ट्रिय सुरक्षालाई आधार मानेर टिकटकलाई खरिद गर्ने वा यसमा प्रतिबन्ध लगाउने निर्णय बाइडेन प्रशासनले गरेको थियो।

बुधवार ट्रम्पले पत्रकारहरूसँग भने, ‘टिकटकको विषयमा चीनले भूमिका निभाउनुपर्छ। मलाई लाग्छ, उनीहरूले त्यसो गर्नेछन्।’ उनले अगाडि थपे, ‘यो काम सफल बनाउनका लागि म ट्यारिफमा केही कटौती गर्न सक्छु, वा अरू केही कदम चाल्न सक्छु।’

ट्रम्पले ५ अप्रिलको समयसीमाभित्र यो मुद्दामा सहमतिको ढाँचा तयार हुने विश्वास पनि व्यक्त गरेका छन् ।