१४ चैत, काठमाडौँ । कलाकार हरिवंश आचार्यको पहिचान नै हास्य व्यङ्ग्यात्मक प्रहसन र प्रस्तुती रहेको छ । तर, विसं २०७९ मा प्रदर्शन भएको चलचित्र ‘महापुरुष’मार्फत राष्ट्रिय चलचित्र पुरस्कारमा उत्कृष्ट अभिनेता घोषणा भएपछि उनले आफूलाई नियमितभन्दा फरक भूमिकामा पनि प्रस्तुत गर्दै आएका छन् ।
अहिले ६७ वर्षको उमेरमा पनि उनी आफ्नो पेशा र कामप्रति युवावस्थामा जस्तै समर्पित र गम्भीर देखिन्छन् । युवा कलाकारजस्तै सक्रिय भई मेहनतका साथ कर्म गर्छन् । यसै सन्दर्भमा आयोजित एक कार्यक्रममा वरिष्ठ अभिनेता आचार्यले अनुशासनले सफलतालाई दीर्घायु बनाउने भएकाले आत्मअनुशासनमा जोड दिई लगनशील भई काम गर्नुपर्ने बताए ।
उनले भने, “चलचित्रमा अभिनय गर्दा होस् वा प्रहसन गर्दा अहिले पनि मेरो मुटू ढुकढुक हुन्छ, मनमा डर उत्पन्न हुन्छ । त्यो डर भनेको मेरा लागि अनुशासन हो । त्यसले मलाई मेहनत गर्न प्रेरित गर्छ, त्यही कारण मेरो कलाकारिताको यात्रा यहाँसम्म आइपुगेको हो, जस्तो लाग्छ ।”
नकारात्मक सोचबाट मुक्त भई स्वस्फूर्त रूपमा लगनशील भई काममा समर्पित हुन सुझाव दिँदै हाँस्य अभिनेता आचार्यले समर्पणभावले आफू सम्बद्ध पेशा, व्यवसायमा होमिए सफल होइने दृष्टान्त पेश गरे । ‘मह’जोडीका रूपमा स्थापित वरिष्ठ कलाकार ‘द्वय’लाई समर्पण र निष्ठाको उपजका रूपमा लिने गरेको पाइन्छ । उनीसँगै ‘मह’ जोडीका ‘म’ अर्थात् मदनकृष्ण श्रेष्ठ कलाकारितासँगै सामाजिक रूपमा समेत उच्च स्थान बनाउन सफल भएका छन् ।
रङ्गमञ्चमार्फत आफ्नो कलाकारिता सुरू गरेका अभिनेता आचार्य लामो समयदेखि नाटकमा भूमिका निर्वाह नगरेको बताउछन् । यद्यपि मञ्चमा गरिने प्रहसन र नाटकउस्तै भएको अभिनेता आचार्य बताउछन् ।
“नाटक र प्रहसनउस्तै हो, खासै अन्तर छैन । किनकि दुवैमा दर्शकको अगाडि मञ्चमा कलाकारले आफूलाई प्रस्तुत गर्छन्, मैले यसै वर्ष पनि केही प्रहसन गरेँ । त्यसकारण म आफूलाई नाटकबाट टाढा रहेको जस्तो लाग्दैन”, उनले भने ।
उनले कला क्षेत्रका लागि रङ्गमञ्च आमाको काँख झैँ भएकाले यहाँ सिकिने कलाकारिता दीगो हुने अनुभव सुनाए । राष्ट्रिय नाँचघरमा ‘गुरू हरिप्रसाद रिमाल’सँग नाटक तथा कलाकारले बोल्ने संवादको शैली सिकेको स्मरण गर्दै वरिष्ठ अभिनेता आचार्यले अभिनयमा रुचि राख्नेले आफूलाई रङ्गमञ्चमा प्रस्तुत गर्नुपर्ने धारणा व्यक्त गरे ।
“मैले आदरणीय गुरू रिमालसँग आँखाले अभिनय गर्छ भन्ने सिकें, त्यहाँ मैले मदन दाईसँग गरेको नाटक विज्ञापनलाई नेपालसँगै विदेशमा समेत प्रस्तुत गरेँ । हामीले त्यो नेपालमा मात्र ४०० को हाराहारीमा मञ्चन गरेका थियौँ । हाम्रो अभिनयको सुरुआत नै रङ्गमञ्चबाट भएको हो”, उनले भने ।