राजनीति

राजावादी आन्दोलनको ‘कमान्डर’ दुर्गा प्रसाईँ, २१ गतेदेखि आन्दोलन थप सशक्त बनाउने घोषणा

१४ चैत, काठमाडौँ । राजतन्त्र पुनर्स्थापना लागि राजावादीहरूले सुरु गरेको आन्दोलनको कमान्डर दुर्गा प्रसाईँ तोकिएका छन्।  नवराज सुवेदीको संयोजकत्वमा गठन भएको ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ ले आज एक अपिल सार्वजनिक गर्दै  चैत २१ गतेदेखि आन्दोलनलाई थप सशक्त बनाउने घोषणा समेत गरेको छ। 

नवगठित संयुक्त जनआन्दोलन समितिले जनकमान्डरको जिम्मा मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई दिइएको सुवेदीले बताएका छन्।

संयोजक सुवेदीले जारी गरेको अपिलमा संवैधानिक राजसंस्थाको पुनर्स्थापना, सनातन हिन्दु अधिराज्यको पुनर्स्थापना, सङ्घीयता खारेजी र भ्रष्टाचार नियन्त्रण र सुशासनका लागि अभियान थालिएको बताइएको छ। 

 वर्तमान संविधानमा सानातिना फेरबदल गरेर सम्भव नभएको संयोजक सुवेदीको भनाइ छ।  उनले  २०४७ सालको संविधानलाई आधार मानेर २०७२ सालको संविधानका सकारात्मक प्रावधानहरूलाई समेट्दै प्रमुख राजनीतिक पक्षहरूबिच सहमति हुनुपर्ने धारणा राखेका थिए। 

आन्दोलनलाई सल्लाह दिनको लागी  डा. जगमान गुरुङको संयोजकत्वमा सल्लाहकार समिति निर्माण गरिएको छ। यस्तै, सांसद डा. धवल शमशेर राणा संयोजक रहको १,१११ सदस्यीय ‘आन्दोलन परिचालन समिति’ रहेको छ।