राजनीति

तीनकुनेको आपराधिक घटनामा ज्ञानेन्द्र शाहको प्रमुख भूमिका छ,सरकारले कडा कदम चालोस् : अध्यक्ष दाहाल 

१६ चैत, काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले तीनकुनेमा भएको हिजोको घटनामा पूर्वराजा ज्ञानेन्द्र शाहको प्रमुख भूमिका रहेको बताएका छन्। उनले यस घटनाबाट पूर्वराजाको मानसिकता आपराधिक छ भन्ने पुनः पुष्टि भएको आरोप लगाएका हुन्। 

अध्यक्ष दाहालले राजावादी समूहले शुक्रवार तोडफोड गरेको नेकपा एकीकृत समाजवादी केन्द्रको कार्यालयमा स्थलगत अनुगमनपछि सञ्चारकर्मीसँग कुरा गर्दै सरकारले यसबारे कडा कदम चाल्नु पर्ने बताए। 

उनले भने ‘जे भएको छ प्रष्ट के भएको छ भने यसको पछाडि ज्ञानेन्द्र शाह नै हो । ज्ञानेन्द्र शाहको मानसिकता नै आपराधिक छ भन्ने इतिहासमा पनि देखिएको हो’ उनले भने, ‘अहिले पनि देखिएको छ । यही नै समय हो सरकारले कडा कदम चालोस् ।’

 सरकार र प्रहरीको राम्रो तयारी नदेखिएको उनको भनाइ छ। ‘सरकार र प्रहरीको राम्रो तयारी देखिएन । यहाँ आक्रमण भयो भनेर जानकारी गराएपछि पनि झन्डै ४०-४५ मिनेट सुरक्षाकर्मी नदेखिनु बडो विडम्बना भन्नुपर्ने हुन्छ,’ उनले भने ।

राजधानीको मुटुमा यस्तो विवेकहीन र आपराधिक घटना हुँदा सुरक्षा निकाय समयमै उपस्थित हुन नसक्ने अवस्थाको सरकारले गम्भीर रूपमा समीक्षा गर्न र राम्रो सुरक्षाको प्रवन्ध मिलाउन सरकारलाई अध्यक्ष दाहालको सुझाब छ।