१६ चैत, काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले अहिले कसैले चाहेर पनि गणतन्त्रलाई हटाउन नसक्ने बताएका छन्। शनिवार काठमाडौँमा नेपाल लेखक सङ्घको आठौँ अधिवेशनको उद्घाटन कार्यक्रममा बोल्दै उनले अहिले देश एक ढिक्का भएकोले कसैले चाहेर गणतन्त्र हट्न नसक्ने बताएका हुन्।
देउवाले भने, ‘गणतन्त्रलाई कसैले चाहेर हटाउने सक्दैन । देश एक छ । अहिले देशको परिस्थिति यस्तो भएर मैले यहाँ भन्नुपरेको हो ।’
उनले पूर्वराजा ज्ञानेन्द्र शाह संवैधानिक राजा बन्न नसक्ने पनि दाबी गरेका छन्। हिजो तीनकुनेमा भएको हिंसात्मक घटनाक्रम सम्झिँदै देउवाले पूर्वराजा कहिल्यै पनि संवैधानिक राजा नबनेको बताए।
‘हिजोको घटना जो काठमाडौँमा भयो, जसरी पूर्वराजाको नाममा हुलहुज्जत भयो । अराजक तरिकाले धेरै घटना भयो । स्पष्ट भन्नुपर्ने हुन्छ, यी पूर्वराजा ज्ञानेन्द्र अहिले यस्तो गर्छन् भने राजा भए के गर्लान् ? यिनी कहिल्यै पनि संवैधानिक राजा बनेका पनि छैनन् । बन्ने पनि छैनन् ।’