१६ चैत,काठमाडौँ। नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले शुक्रवार तीनकुनेमा भएको घटनाको जवाफ पूर्व राजा ज्ञानेन्द्र शाहले दिनुपर्ने बताएका छन्। आज बिपी चिन्तन प्रतिष्ठानले काठमाडौँमा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिटौलाले अराजकतावादी आन्दोलनमा पूर्व राजा ज्ञानेन्द्रले आफ्नो संलग्नता रहेको भए जिम्मा लिनुपर्ने बताएका हुन्।
नेता सिटौलाले भने,’हिजो काठमाडौँको कोटेश्वर आसपासमा राजतन्त्र पक्षधरहरूले जे हिंसात्मक र दु:खद् घटना घटाए, त्यसप्रति मेरो खेद छ, घटनाको म भर्त्सना गर्दछु, घटना ज्ञानेन्द्रको उक्साहटमा घटेको हो वा होइन? यदि हो भने उनले जिम्मेवारी लिनु पर्छ,।
नेता सिटौलाले पूर्व राजा ज्ञानेन्द्र पोखराबाट फर्कँदै गर्दा, एयरपोर्टबाट गौशाला हुँदै निर्मलनिवास जाँदै गर्दा जुनजुन कुराहरू उठान भएका छन्, त्यसको उपज हिजोको घटना भएको बताए। उनले पूर्वराजाको निवासमा प्रदर्शनको सञ्चालन र तयारीबारे केही बैठक र छलफल भएका कुरा पनि बाहिर आएको समेत बताए।