राजनीति

ज्ञानेन्द्र शाहीकाे चेतावनी: सरकार तयार भएर बसे हुन्छ, आन्दोलनको आँधीबेहरी उठ्छ

१७ चैत, काठमाडौं । राप्रपाका साँसद ज्ञानेन्द्र शाहीले सरकार सफल भयो तर देश असफल भयो भन्ने टिप्पणी गरेका छन् । उनले सामाजिक सञ्जालमा लेख्दै चाहे जोसुकै हुन् मान्छे मार्नेलाई उन्मुक्ति दिनु हुँदैन भन्दै आन्दोलन भड्काउन मञ्चमै अश्रु ग्यास हान्ने र सर्वसाधारण नागरिकको घरमा लुकेर आन्दोलनकारीमाथि गोली बर्साएको देखेँ उक्त कुरा गलत भएको बताएका हुन् ।
उनले चैत १५ गतेको दुई जनाको ज्यान जानेगरी भएको आगजनी, लुटपाट तथा तोडफोडको घटनाको बिषयमा लेख्दै जनता र समयको माग हो दिन एक गुना रात चौगुनाका दरले आन्दोलनको आँधीबेहरी उठ्छ। सरकार तयार भएर बसे हुन्छ कतिको हातमा हत्कडी लगाउँछौ भनेका छन् ।

उनको भनाईः

धेरैले भने ज्ञानेन्द्र शाही तिमी किन बोलेनौ म बोलु कसरी ? आफू सहभागी नभएको आन्दोलनमा सँगै काम गरेको सहकर्मीको जलेर लास भएको देखेँ। सँगै खाजा खाएको साथीलाई प्रहरीले घाँटीमा गोली हानेर हत्या गरेको देखेँ । आन्दोलन भड्काउन मञ्चमै अश्रु ग्यास हान्ने र सर्वसाधारण नागरिकको घरमा लुकेर आन्दोलनकारीमाथि गोली बर्साएको देखेँ ? सरकारले आन्दोलनमा व्यापक भिजलान्ते प्रयोग गरेको देखे। कसको षड्यन्त्र हो? कसको इच्छा पूरा भयो ? सरकार सफल भयो तर देश असफल भयो।
सत्य तथ्य छानबिन गर्न उच्चस्तरीय नागरिक आयोग गठन गरियोस्। चाहे जोसुकै हुन् मान्छे मार्नेलाई उन्मुक्ति दिनु हुँदैन।
आफ्ना माग शान्तिपूर्ण राख्न पाइन्छ तर माग राखे भन्दैमा सरकारले ज्यादती प्रयोग गर्नु हुँदैन। यो रोकेर रोकिने कुरा होइन यो दबाएर दबिने होइन। यो जनता र समयको माग हो दिन एक गुना रात चौगुनाका दरले आन्दोलनको आँधीबेहरी उठ्छ। सरकार तयार भएर बसे हुन्छ कतिको हातमा हत्कडी लगाउँछौ। बरु राजनीतिकबाट सन्यास लिन्छु। तर म हिंसाको पक्षमा पटक्कै उभिने छैन। हिजो ममाथि ज्यान जाने गरि सांघातिक आक्रमण हुँदा पनि मैले शान्तिको बाटो नै रोजेको हुँ अझै यहि बाटो अपनाउँछु। चाहे मेरो ज्यान नै किन नजाओस्।