१८ चैत, काठमाडौँ । नेकपा एमालेका सचिव योगेश भट्टराईले पूर्वराजा ज्ञानेन्द्र शाहले सम्झौता भङ्ग गरिसकेकाले उनलाई दिएको सेवा सुविधा खोस्नुपर्ने बताएका छन्। आज प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद भट्टराईले राज्यले पूर्वराजालाई पूर्व राष्ट्राध्यक्षका रूपमा दिएको सेवा सुविधा दिन नहुने जिकिर गरेका हुन्।
चैत १५ गते काठमाडौँमा भएको प्रदर्शनमार्फत हिंसात्मक गतिविधि गरेका कारण शाहले सम्झौता भङ्ग गरेको भट्टराईको दाबी छ।
सांसद भट्टराईले दुर्गा प्रसाईँसहितलाई ‘लफङ्गा’भन्दै पूर्वराजा ज्ञानेन्द्रले लफङ्गाहरूलाई माला लगाएर जनताको घर जलाउन पठाएको आरोप लगाए।
उनले भने,’सम्झौता गरेर नारायणहिटीबाट निर्मल निवासमा पठाउँदा पूर्व राष्ट्राध्यक्षको रूपमा सेवा सुविधा दिइएको हो। तर,त्यो सम्झौता निर्मल निवासमा बसेर भङ्ग गर्नुभयो। अब उहाँलाई सुविधा दिन आवश्यक छ कि छैन। सोच्नुपर्छ।’
उनले अबको पुस्ताले राजसंस्था नमान्ने र त्यो सम्भव नभएको बताए।