राजनीति

प्रधानमन्त्रीको भनाइ प्रति सांसद झाको आक्रोश : ‘एउटा कर्मचारी मन्त्रीप्रति लोयल हुने कि राज्यप्रति ?’

१८ चैत, काठमाडौँ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले कुलमान घिसिङ मन्त्रीप्रति लोयल नभएको भन्ने प्रधानमन्त्री केपी ओलीको भनाइ प्रति आपत्ति जनाएका छन्। सरकारले कुलमान मन्त्री प्रति लोयल नभएकाले विद्युत प्राधिकरणको निर्देशकबाट हटाएको भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिप्रति उनले आक्रोश व्यक्त गरेका हुन्। 

आज बसेको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्दै कुलमानलाई प्राधिकरणबाट हटाइएको र पछिल्ला घटनाक्रमबारे सरकारको धारणा सार्वजनिक गरेका थिए ।

त्यस क्रममा ओलीले कुनै राष्ट्रसेवक कर्मचारी मन्त्रीप्रति लोयल नहुने हो भने काम गर्न असहज हुने भन्दै हटाइएको जवाफ दिएका थिए। 

प्रधानमन्त्रीको उक्त भनाइप्रति रास्वपा सांसद झाले कर्मचारी मन्त्रीप्रति कि राज्यप्रति लोयल हुने भन्दै आक्रोशित हुँदै प्रश्न गरेका हुन् ।

‘आज प्रधानमन्त्रीले सम्बोधन गरेर जाँदै गर्दा भनेर जानुभयो कि उ मन्त्रीप्रति लोयल हुने, कर्मचारी मन्त्रीप्रति लोयल हुने कि देशप्रति ? मन्त्रीको चाप्लुसी गर्नलाई कोही कर्मचारी आउँछ ? कस्तो कुरा गरेर जानुभयो उहाँले ? मन्त्रीप्रति लोयल भएन त्यसैले सरुवा गरियो रे !,’ उनले भने ।