१८ चैत, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले गणतन्त्र जनताको इच्छामा निर्भर रहेको बताएका छन्।
प्रतिनिधिसभामा बोल्दै उनले यदि सरकारको व्यवहार नबदलिए गणतन्त्रको विरोध मात्र नभई उल्टिन पनि सक्ने चेतावनी दिए। साथै, उनले युवाहरूको शक्ति कमजोर नआँक्न आग्रह गरे।
तीनकुने प्रदर्शनबारे लिङ्देनले सरकारले पनि ज्यादती गरेको आरोप लगाउँदै, अघिल्लो आन्दोलनहरूमा कांग्रेस–एमालेले समेत हिंसा, तोडफोड गरेर मान्छे नमारी नै आएको हो ? भन्दै प्रश्न समेत उठाएका छन्।
“एकमुष्ट के भन्न चाहन्छु भने अब कथाले, शब्दजालले अबको पुस्ता मान्ने छैन । तपाईंको मिथ्यांकले मान्छे पत्याउनेवाला छैन । अहिलेको डिजिटल युग, सूचना प्रविधिको विकास तयसबाट युवा राम्रोसँग परिचित छ, तपाईंले किन राजा हटाउनुभएको रहेछ ? राजा हटाएपछि नारायणहिटीमा व्यापार गर्न खोज्नुभयो । तपाईं राजा हटाएर देशमा लोकतन्त्र र गणतन्त्रको नाममा कुन खालको लुटतन्त्र मच्चाउन खोज्नुभएको छ हेरिरहेको छ ।” उनले भने ।