१९ चैत, काठमाडौँ । सरकारले राजावादी समूहको प्रदर्शनमा सहभागी नहुन आम नागरिकलाई अपिल गरेको छ । आज मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले राजावादी समूहको अराजक प्रदर्शनमा सहभागी नहुन सरकारको तर्फबाट अपिल गरेका हुन्।
तीनकुने घटनाको सत्यतथ्य छानविन गरी दोषीउपर कारबाही गर्न र अगामी दिनमा यस किसिमको घटना हुन नदिने व्यवस्था मिलाउन गृह मन्त्रालयलाई मन्त्रिपरिषद् बैठकले निर्देशन दिइएको जानकारी दिए। उनले भने, ‘ यस किसिमको अराजक गतिविधिहरूमा संलग्न नहुन आम नागरिकहरूमा नेपाल सरकार हार्दिक अपिल गर्दछ।’
घटनामा घाइते भएकाहरूको उपचारको व्यवस्था मिलाउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई जिम्मेवारी दिइसकेको प्रवक्ता गुरुङले बताए।
चैत १५ गते शुक्रबार काठमाडौँको तीनकुनेमा राजावादीले प्रदर्शन गरेका थिए। प्रदर्शन हिंस्रक हुँदा एक पत्रकारसहित दुई जनाले ज्यान गुमाएका थिए भने केही निजी र सरकारी सम्पत्ति तोडफोड तथा आगजनी गरिएको थियो।
सरकारले उक्त घटनामा संलग्न जो कोही भए पनि कारबाहीको दायरामा ल्याउने बताइसकेको छ।