१९ चैत, इजरायल । इजरायलका विदेशमन्त्री गिडेअन सार औपचारिक भ्रमणका लागि फ्रान्स जाने भएको छ । उनले त्यहाँका विदेशमन्त्री तथा अन्य उच्च पदस्थ अधिकारीहरूसँग भेटवार्ता गर्नेछन् । यस बैठकमा पश्चिम एशियामा बढ्दो सुरक्षा चुनौतीहरूका विषयमा छलफल हुनेछ ।
इजरायली दूतावासद्वारा जारी विज्ञप्तिअनुसार मन्त्री सारले भने,“म पेरिसको औपचारिक भ्रमणमा जाँदैछु । मुख्य रूपमा इरानबाट उत्पन्न सुरक्षा चुनौती तथा क्षेत्रीय स्थायित्वबारे छलफल हुनेछ । इरानी नेतृत्वले हालै मात्र इजरायललाई नष्ट गर्ने आफ्नो लक्ष्य दोहोर्याएका छन् ।”
उनले लेबननमा भइरहेको गतिविधिप्रति गम्भीर चिन्ता व्यक्त गर्दै भने, “हामी लेबनन सरकारसँग अपेक्षा गर्छौं कि उसले आफ्नो भूमिमा सक्रिय रहेका आतङ्ककारी समूहहरूलाई नियन्त्रण गर्ने ठोस कदम चालोस् । इरान, हिजबुल्लाह र हमासको सहकार्यमा इजरायलविरुद्ध योजना बनाइँदैछ ।”
मङ्गलबार बिहान इजरायली रक्षा बल आइडीएफका लडाकु विमानहरूले बेरुतमा हिजबुल्लाहका एक सदस्यमाथि लक्षित आक्रमण गरेका थिए । इजरायलका अनुसार, ती व्यक्ति हमासका लडाकुहरूलाई निर्देशन दिइरहेका थिए । मन्त्री सारले भने, “उक्त व्यक्ति इजरायली नागरिकमाथि ठूलो आक्रमणको तयारीमा थिए । उनी प्रत्यक्ष र तत्कालीन सुरक्षा खतरा भएकाले आवश्यक कारबाही गरिएको हो ।”
गाजाको परिस्थितिबारे बोल्दै मन्त्री सारले थपे,“हमासले युद्ध पुनः सुरु गर्न खोजिरहेको छ । उनीहरूले बन्धकहरूको रिहाइ अस्वीकार गरेका छन् । गाजाका नागरिकहरू शान्ति चाहन्छन्, तर हमासले उनीहरूको आवाज दबाइरहेको छ । यसै साता, हमासले गाजामा प्रदर्शनकारीहरूमाथि कठोर दमन गरेको छ ।”
मन्त्री सारले अक्टोबर ७ का घटनाबारे हालै बेलायती संसदले प्रकाशित गरेको प्रतिवेदनको चर्चा गर्दै भने,“यस प्रतिवेदनमा हमासद्वारा गरिएको अपराधहरूको भयावह विवरण समेटिएको छ । तीमध्ये यौन हिंसाका गम्भीर घटनाहरू पनि छन् । यो इजरायली प्रतिवेदन होइन, बेलायती संसदले जारी गरेको स्वतन्त्र प्रतिवेदन हो ।”
म्यानमार र थाइल्यान्डमा हालै आएको भूकम्पबारे दुःख व्यक्त गर्दै मन्त्री सारले भने,“इजरायल म्यानमार र थाइल्यान्डका जनताप्रति गहिरो समवेदना प्रकट गर्दछ । भूकम्पपछि मैले थाइ विदेशमन्त्रीसँग संवाद गर्नुभयो । इजरायलले २१ जना विशेषज्ञहरू पठाएर सहयोग गरिसकेको छ । साथै, म्यानमारका भूकम्पपीडितहरूका लागि आवश्यक सामग्री तथा खाद्य आपूर्तिको व्यवस्था गरिएको छ ।”
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार, म्यानमारमा गएको ७।७ म्याग्निच्युडको भूकम्पका कारण हालसम्म दुई हजार भन्दा भन्दा बढी व्यक्तिको निधन भइसकेको छ । उद्धार कार्य जारी रहेको छ ।