२० चैत, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले तीनकुनेमा राजावादी समूहले गरेको प्रदर्शनका क्रममा भएको जनधनको क्षतिप्रति पूर्वराजा ज्ञानेन्द्र शाह मौन बसेको भन्दै प्रश्न उठाएका छन्।
बुधबार सिंहदरबारमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले प्रदर्शन शाहकै अपिलमा भएको भन्दै पूर्वराजाले फागुन ७ मा अपिल गरे, “तर तीनकुने घटनामा उहाँको कुनै संलग्नता छैन ? जनधनको क्षतिमा उहाँलाई दुख्नु पर्दैन ?” भनेर प्रश्न गरे।
उनले राजसंस्थाको स्वरूपप्रति कटाक्ष गर्दै भने, “राजालाई गद्दीमा ल्याएपछि उत्तराधिकारी को हुने ? छोरा, नाति, पनाति ? के राजसंस्था पुरुषकै लागि मात्र हो ? गणतन्त्रले त दोस्रो राष्ट्रपति नै महिलालाई बनाएको छ नि ! तर राजसंस्थामा त कहिले पनि महिलालाई अवसर नआउने रैछ “
राजनीतिक दल र सरकारप्रति जनअसन्तुष्टिलाई सुधार्दै लैजानुपर्ने बताउँदै शर्माले भने, “०८४ को निर्वाचनपछि हामी नेतृत्व परिवर्तन गर्न सक्छौं, तर राजसंस्थामा बसेकालाई परिवर्तन गर्न सकिन्न।”
महामन्त्री शर्माले तीनकुने घटनाको सत्यतथ्य पत्ता लगाउन न्यायिक छानबिन समिति गठन गर्न सरकारलाई आग्रह गरे।