तस्विरहरु

विश्वकै अति प्रदूषित देशको सूचीमा नेपाल- काठमाडौंमा संकट (फोटोफिचर)

२१ चैत, काठमाडौँ । काठमाडौं उपत्यकामा वायु प्रदूषणको मात्रा अत्यधिक बढेसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबैलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

एयर क्वालिटी इन्डेक्स (एक्यूआई)  अनुसार नेपाल पछिल्ला केही दिनदेखि विश्वकै अति प्रदूषित देशहरूको सूचीमा परेको छ। काठमाडौं उपत्यकामा वायुको गुणस्तर खतराको तहमा पुगेको छ, जसका कारण जनस्वास्थ्यमा गम्भीर असर पर्ने सम्भावना छ। अहिले तुवाँलो यति बाक्लो छ कि एक किलोमिटरसम्मको दृश्य पनि प्रस्ट देख्न मुस्किल भइरहेको छ।

स्वास्थ्य मन्त्रालयले वायु प्रदूषणका कारण श्वासप्रश्वाससम्बन्धी समस्या, आँखा पोल्ने, एलर्जी, टाउको दुख्नेजस्ता स्वास्थ्य समस्या देखिन सक्ने बताउँदै बाहिर निस्कँदा मास्कको अनिवार्य प्रयोग गर्न, लामो समय खुला स्थानमा बस्न नहुने र विशेष सावधानी अपनाउन अनुरोध गरेको छ।

यससँगै मन्त्रालयले उद्योग, निर्माण कार्य तथा वन डढेलो नियन्त्रणका लागि आवश्यक कदम चाल्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ। साथै, फोहर व्यवस्थापन सुधार, सार्वजनिक यातायातको प्रवर्द्धन, तथा निर्माण क्षेत्रमा धुलो रोकथामका उपाय अपनाउन आग्रह गरिएको छ। वातावरणीय प्रदूषण घटाउन दीर्घकालीन समाधानमा जोड दिनुपर्ने भन्दै मन्त्रालयले सरोकारवाला निकायलाई आवश्यक पहल गर्न आह्वान गरेको छ।