२१ चैत, मुम्बई । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको व्यापक भन्सार महसुलप्रति भारतले बिहीबार सावधानीपूर्वक प्रतिक्रिया दिएको छ । सरकारले भन्सार महसुल वृद्धिबाट ‘प्रभाव’ र ‘अवसर’ दुवैको परीक्षण गरिरहेको बताएको छ ।
भारतीय सेयर बजार बिहीबार कारोबारको सुरुआतमा घटेको थियो । बेन्चमार्क निफ्टी सूचकाङ्क दिउँसो शून्य दशमलव तीन प्रतिशतभन्दा बढी घटेर कारोबार भइरहेको थियो ।
बुधबार ह्वाइट हाउसमा भन्सार महसुलको घोषणा गर्दै ट्रम्पले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी एक ‘महान मित्र’ भएको तर उनले ‘हामीलाई सही व्यवहार’ नगरेको बताए ।
भारतको वाणिज्य विभागले बिहीबार ‘विभिन्न उपायको प्रभावलाई सावधानीपूर्वक परीक्षण गरिरहेको’ बताएको छ ।
विभागले एक विज्ञप्तिमा भनेको छ, “विभागले यस नयाँ विकासका कारण उत्पन्न हुनसक्ने अवसरहरू अध्ययन गरिरहेको छ ।” यो क्षेत्रीय प्रतिस्पर्धीहरू अझ बढी प्रभावित हुने सम्भावित सन्दर्भ हो ।
ह्वाइट हाउसको प्रारम्भिक चार्टले भारतलाई २६ प्रतिशत भन्सार शुल्कमा सूचीबद्ध गरेको थियो तर नयाँदिल्लीले उल्लेख गरेअनुसार भन्सार शुल्क २७ प्रतिशत रहेको छ ।
भारतीय निर्यातकहरूले उनीहरू समान मात्रामा निराश र राहत महसुस गरेको बताएका छन् ।
“भारतमा लगाइएको भन्सार निश्चित रूपमा उच्च र अपेक्षाभन्दा बढी छ, जसले हाम्रो निर्यातको मागमा असर गर्नेछ”, भारतीय निर्यात सङ्गठन महासङ्घका महानिर्देशक अजय सहायले भने ।
तर उनले भारतमा उत्पादन प्रतिद्वन्द्वीहरूभन्दा कम भन्सार शुल्क लगाइएको पनि बताए ।
“चीन, इन्डोनेसिया र भियतनाम लगायत विश्वव्यापी रूपमा हामीसँग प्रतिस्पर्धा गर्ने धेरै देश हामीभन्दा बढी प्रभावित भएका छन्”, उनले भने, “यसले हामीलाई बजार हिस्साका सन्दर्भमा लाभ उठाउन ठाउँ खोल्छ । तर एकै समयमा, यदि धेरै देशले बदला लिन्छन् र विश्वव्यापी व्यापारमा असर पर्छ भने यो कसैका लागि राम्रो होइन ।”
– प्रतिस्पर्धात्मक लाभ –
सन् २०२४ को आर्थिक वर्षमा संयुक्त राज्य अमेरिकामा आठ अर्ब डलरभन्दा बढी निर्यात गर्ने भारतीय उद्योगलाई राहत प्रदान गर्दै औषधि सामानहरूलाई पारस्परिक शुल्कबाट छुट दिइने ह्वाइट हाउसको तथ्य पत्रले जनाएको छ ।
इन्डियन फर्मास्युटिकल एलायन्सका महासचिव सुदर्शन जैनले ‘जनस्वास्थ्य, आर्थिक स्थिरता र राष्ट्रिय सुरक्षामा लागत प्रभावी, जीवन रक्षक जेनेरिक औषधिको महत्त्वपूर्ण भूमिका’ देखाएको बताए ।
नयाँदिल्ली वासिङ्टनसँग द्विपक्षीय व्यापार सम्झौताको पहिलो चरणको वार्ता गर्ने प्रक्रियामा पनि छ ।
ट्रम्पको ‘मुक्ति दिवस’ को घोषणाका क्रममा भारतले उच्चस्तरको मोटरसाइकल र ह्विस्की लगायत केही उत्पादनमा कर कटौती गरेर वासिङ्टनसँग व्यापारिक तनाव कम गर्न खोजेको थियो ।
भारतको भविष्यको नीतिगत प्रतिक्रियाले चीनको अर्को कदमलाई पनि ध्यानमा राख्नुपर्ने विशेषज्ञहरूको भनाइ छ ।
“भारतको तुलनामा एसियामा बढी भन्सार शुल्क लगाइएको छ”, एम्के ग्लोबल फाइनान्सियल सर्भिसेसकी प्रमुख अर्थशास्त्री माधवी अरोराले भने, “भारतका लागि, विश्वरएसियाली बजारहरूमा उद्योगिक क्षमता र डम्पिङको अतिरिक्त बीच, चीनको भारी भन्सार प्रहारको बचाउ प्रतिक्रिया महत्त्वपूर्ण हुनेछ ।”
नयाँदिल्लीस्थित थिङ्क ट्यााङ्क ग्लोबल ट्रेड रिसर्च इनिसिएटिभले भन्सार हलचलले ‘भारतलाई विश्वव्यापी व्यापार र उत्पादनमा आफ्नो स्थिति बलियो बनाउने अवसर प्रस्तुत गरेको’ बताएको छ ।
इनिसिएटिभले चिनियाँ र बङ्गलादेशी प्रतिद्वन्द्वीहरू उच्च भन्सारबाट प्रभावित भएको कपडा र पोशाकलाई प्रकाश पार्दै भारतलाई केही प्रमुख क्षेत्रमा ‘प्रतिस्पर्धात्मक फाइदा’ दिइएको बताएको छ ।