आर्थिक

एशियन लाइफ इन्स्योरेन्स कम्पनीको सत्रौं वार्षिकोत्सव सम्पन्न

२१ चैत, काठमाडौँ । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो स्थापनाको सत्रौं वार्षिकोत्सव भव्य रुपमा सम्पन्न गरेको छ। कम्पनीले २०६४ चैत २१ गतेदेखि औपचारिक रुपमा कारोबार प्रारम्भ गरेको थियो र अब अठारौं वर्षमा प्रवेश गरेको छ।

अठारौं वर्ष प्रवेशको अवसरमा २०८१ चैत १५ गतेदेखि २१ गतेसम्म विभिन्न सामाजिक उत्तरदायित्व सम्बन्धी कार्यक्रमहरू आयोजना गरिएको थियो। यसै अवसरमा रक्तदान जीवन दानू भन्ने नारासहित चैत २१ गते काठमाडौँको मैतीदेवीस्थित प्रधान कार्यालय परिसरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा कम्पनीका कर्मचारी, काठमाडौँ उपत्यकाभित्रका शाखा तथा उपशाखाका प्रतिनिधिहरू र विभिन्न संघ-संस्थाका प्रतिनिधिहरू गरी ७४ जनाले रक्तदान गरेका थिए।

त्यसैगरी, चैत १८ गते काठमाडौँ उपत्यकाभित्र कार्यरत कर्मचारीहरूबीच मैत्रीपूर्ण फुटसल प्रतियोगिता आयोजना गरिएको थियो। साथै, देशभरका ८६ वटा शाखा तथा उपशाखा कार्यालयमार्फत वृद्धाश्रम, सामुदायिक विद्यालय, अनाथालय तथा सामाजिक संस्थाहरुलाई शैक्षिक सामग्री, खाद्यान्न तथा फर्निचर लगायतको सामग्री वितरण गरिएको छ। कम्पनीले सामाजिक उत्तरदायित्व अन्तर्गत करिब १० लाख रुपैयाँ बराबरको सहयोग प्रदान गरेको छ।

वार्षिकोत्सवको अवसरमा आयोजित शुभकामना आदान-प्रदान कार्यक्रममा कम्पनीका सञ्चालक समिति अध्यक्ष दीपक कुमार श्रेष्ठले एशियन लाइफ इन्स्योरेन्स कम्पनीको सफल व्यावसायिक यात्रामा अहिलेसम्म साथ दिने सम्पूर्ण शुभेच्छुकहरूलाई धन्यवाद ज्ञापन गरेका छन्। उनले कम्पनीले उत्कृष्ट बीमा सेवा प्रदान गर्दै बीमित तथा शेयरधनीहरूलाई उच्च प्रतिफल दिने प्रतिबद्धता व्यक्त गरे।

कम्पनीका अनुसार चालू आर्थिक वर्ष २०८१/८२ को फागुन मसान्तसम्म जीवन बीमाकोष ४४ अर्ब ६८ करोड पुगेको छ भने कुल बीमाशुल्क ५७ अर्ब १८ करोड रहेको छ। त्यस्तै, कुल लगानी ४९ अर्ब ३० करोड पुगेको छ। चालू आर्थिक वर्षको फागुन मसान्तसम्म कम्पनीले कुल बीमाशुल्क ५ अर्ब ६९ करोड आर्जन गरेको छ।

हाल एशियन लाइफ इन्स्योरेन्स कम्पनीको १६ लाख ४२ हजार सक्रिय बीमालेख रहेका छन् भने कम्पनीको चुक्ता पूँजी रु। ३ अर्ब ३९ करोड ९८ लाख रहेको छ।