२४ चैत, काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आन्दोलनरत शिक्षकहरूलाई सरकारले सताउने काम बन्द गर्नु पर्ने बताएका छन्। आज काठमाडौँमा भएको नेवा राष्ट्रिय मुक्ति मोर्चाको प्रशिक्षण भेलालाई सम्बोधन गर्दै उनले सरकारले शिक्षकहरूलाई सताउन बन्द गर्नु पर्ने बताएका हुन्।
अध्यक्ष दाहालले शिक्षकहरूको माग पुरा गर्न आवश्यक परे विशेष अधिवेशन बोलाउन सक्ने पनि बताए। आफ्ना माग पुरा नहुँदासम्म दबाब मूलक सडक आन्दोलन नछोड्न शिक्षकहरूलाई दाहालको आग्रह छ।
उनले माग पुरा नहुँदासम्म सडक आन्दोलन नछोड्ने शिक्षक महासङ्घको भनाइमा सहमति जनाउँदै बधाई दिएका छन्। आफ्ना माग पुरा गराउन कहिले सिट्ठी बजाउनुस् कहिले के गर्नुस् तपाईंहरूको साथमा हामी छौँ भन्दै शिक्षकहरूको आन्दोलनलाई समर्थन जनाएका हुन्।