२६ चैत, काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पटक पटक कम्युनिष्ट एकताको प्रयास भए पनि सोचेजस्तो हुन नसकेको बताएका छन्। आज मङ्गलवार प्रगतिशील लेखक सङ्घको नवनिर्वाचित समितिलाई बधाई तथा शुभकामना दिँदै उनले त्यसबाट शिक्षा लिएर अघि बढ्नु पर्ने धारणा राखेका हुन्।
अध्यक्ष दाहालले कम्युनिष्टहरु एक पटक फुट भएपछि अब कुनै हालतमा एकता हुँदैन भनेर सोच्न नहुने बताए। हिजोका दिनमा विभाजन भएकाले अब फेरी एकता असम्भव छ भन्नु मार्क्सवादी र द्वन्द्वात्मक भौतिकवादी हुन नसक्ने जिकिर गरे।
विगतमा दुई ठुला कम्युनिष्ट पार्टी एमाले र माओवादी केन्द्रबिच एकता भयो प्रसङ्ग निकाल्दै अध्यक्ष दाहालले त्यसलाई बचाउन नसको स्पष्ट पारे। उनले झण्डै दुई तिहाइको नजिक पार्टी पुग्दा पनि सरकार र पार्टीको एकतालाई बचाउन नसकेको बताए । त्यस घटनाबाट शिक्षा लिनुको अर्को विकल्प नरहेको अध्यक्ष दाहालको भनाइ छ।
कम्युनिष्ट एकता विभाजन भएपछि एक अर्काको आलोचना गरे पनि वामपन्थी एकताको झण्डा नछोडेको अध्यक्ष दाहालले बताए। फेरी पनि एकताको लागी अघि बढ्नु पर्ने उनको भनाइ थियो।