राजनीति

पार्टी बलियो बनाउने हो भने चिया पसलमा बसेर खुट्टा तान्ने काम नगरौँ : बरिष्ठ नेता डा. कोइराला

२६ चैत, चितवन । नेपाली कांग्रेसका बरिष्ठ नेता डा शेखर कोइरालाले पार्टीभित्र आन्तरिक समीक्षाको जरुरी रहेको बताएका छन्।

नेपाली कांग्रेस चितवनले आज यहाँ आयोजना गरेको ३५ औँ जनआन्दोलन दिवसको सन्दर्भ तथा नयाँ वर्ष २०८२ को शुभकामनासहित कांग्रेस नेता ‘भीमबहादुर श्रेष्ठको जीवन सङ्घर्ष र अनुभूतिहरु’ पुस्तक विमोचन तथा भित्तेपात्रो लोकार्पण गर्दै उनले कांग्रेसभित्रको समीक्षा हुन नसक्दा लक्ष्यमा पुग्न कठिन भएको बताए ।

उनले भने, “विसं २०६२/०६३ को जनआन्दोलन पछिका वर्षहरुमा कांग्रेस कहाँनेर चुक्यो भन्ने कुराको समीक्षा जरुरी छ ।” उनले भने, “हामीले राम्रा काम पनि गरेका छौँ तर नराम्रा कामहरुको समीक्षा गरेर अघि बढ्न सके लक्ष्यमा पुग्न सकिन्छ ।” कांग्रेस कमजोर हुँदा लोकतन्त्र कमजोर भएको बताउँदै उनले कांग्रेसलाई बलियो बनाउन गुटको अन्त्य आवश्यक रहेको धारणा राखे । उनले भने, “कांग्रेसलाई बलियो बनाउने हो भने चिया पसलमा बसेर कांग्रेसको खुट्टा तान्ने काम नगरौँ । पार्टीलाई बलियो बनाउने काम गरौँ ।”

अहिले दिनहुँ जनता सडकमा आउनुपर्ने बाध्यताको अन्त्य गर्नसकेमा मात्र सरकारमा भएको अनुभूति हुने उनको भनाइ थियो ।

लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्दै काँग्रेस नेता डा. शेखर कोइराला साथमा केन्द्रीय सदस्यहरु-एनपी साउद, उमा रेग्मी, गोविन्द भट्टराई, टेकप्रसाद गुरुङ् र दिनेश कोइराला, चितवन कांग्रेस सभापति राजेश्वर खनाल लगायत उपस्थित थिए।