२७ चैत, काठमाडौँ। नेपाली काँग्रेसको विद्यार्थी सङ्गठन नेपाल विद्यार्थी सङ्घले शिक्षक महासङ्घको आन्दोलन प्रति ऐक्यबद्धता जनाएको छ। नेविसंघका अध्यक्ष दुजाङ्ग शेर्पाद्वारा आज जारी विज्ञप्तिमा २०८० साउन २७ गते प्रतिनिधि सभामा दर्ता भएको ‘विद्यालय शिक्षा विधेयक २०८०’मा समावेश गरिएका केही प्रावधानहरू सम्पूर्ण शिक्षक,विद्यार्थी र शैक्षिक क्षेत्रको हित विपरीत भएको भन्दै त्यसलाई संशोधन गरी तत्काल विद्यालय शिक्षा ऐन जारी गर्न माग गरिएको छ।
नेविसंघले शिक्षक महासङ्घको नेतृत्वमा भएको यस आन्दोलनलाई पूर्ण रूपमा समर्थन र ऐक्यबद्धता जनाउँदै महासङ्घ र सरकारबिच पटक-पटक भएको सहमति कार्यान्वयनमा सरकार उदासीन देखिएको भन्दै खेद प्रकट गरेको छ।
माध्यमिक तहसम्मको शिक्षा निःशुल्क भनिए पनि संस्थागत विद्यालयले शुल्क लिन पाउने र सामुदायिक विद्यालयले निःशुल्क शिक्षा प्रदान गर्नु पर्ने नेपालमा समानान्तर दुई फरक विरोधाभास शिक्षा प्रणाली रहेको भन्दै संविधान प्रदत्त मौलिक हकको रूपमा रहेको माध्यमिक तहसम्मको शिक्षा युग सापेक्ष प्रविधि मैत्री, वैज्ञानिक,गुणस्तरीय र निःशुल्क हुनुपर्ने व्यवस्था नि:सर्त कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गरेको छ।
‘विद्यालय शिक्षा विधेयक २०८०’ विद्यार्थीहरूको पनि चासो र मुख्य सरोकार भएका कारण विद्यार्थीहरूको समेत प्रतिनिधित्व हुने गरी सर्वपक्षीय छलफल,संवाद र वार्ताद्वारा आन्दोलनरत सबै पक्षको माग सम्बोधन गर्न नेविसंघले माग गरेको छ।
