समाचार

हामी नसुध्रिए अब सडकमा हिँड्दा जनताले चड्कन हान्ने दिन आउन सक्छ : नेतृ झाँक्री

२७ चैत, प्युठान। नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले राजनीतिक दलहरूको कमजोरीका कारण म्युजियममा थन्क्याएर राखेको संस्थाको पक्षमा आन्दोलन  हुने परिस्थिति बनेको बताएकी छन्। आज बुधवार प्युठानमा पार्टीको १० औँ जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै उनले अब सम्पूर्ण लोकतन्त्रवादी राजनीतिक दलहरूले तत्कालीन परिस्थितिको बारेमा समीक्षा गर्नुपर्ने धारणा राखेकी हुन्। 

नेतृ  झाँक्रीले मसानघाट गएको राजतन्त्र कुनै पनि हालत नफर्कने ठोकुवा समेत गरिन्। जनताको बलले दुई दशक अगाडि मसानघाट पुगेको राजतन्त्र कुनै पनि हालतमा नफर्कने उनको जिकिर थियो। तत्कालीन अवस्थाको बारेमा लोकतान्त्रिक राजनीतिक दलहरूले समीक्षा गरेर नसुध्रिए  आगामी निर्वाचनमा सकिने झाँक्रीले दाबी गरिन्। उनले राजनीतिक दलहरूमा अब सकिने या सुध्रिने भन्ने दुई वटा विकल्प मात्रै रहेको बताइन। 

आफूहरूले लडेर ल्याएको परिवर्तनमाथि धावा बोल्ने परिस्थिति हामी आफैले बनाएकोले अब पनि नसुध्रिए सडकमा हिँड्दा जनताले चड्कन हान्ने दिन आउन सक्ने परिस्थिति सृजना भएको नेतृ झाँक्रीको भनाइ थियो।