२८ चैत, काठमाडौँ । नेपालले कुवेतमाथि कीर्तिमानी जित निकालेको छ। आज बिहीबार भएको खेलमा नेपालले कुवेतलाई ६ विकेटले हराएको हो ।
नेपालले हङकङमा जारी चारदेशीय टी-२०आई प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गरेको छ । कुवेतले दिएको १८६ रनको लक्ष्य नेपालले ७ बल बाँकी छँदा ४ विकेटको क्षतिमा पूरा गर्यो । यो नेपालले टी-२०आईमा लक्ष्य पूरा गर्दा बनाएको उच्च योगफल हो । यसअघि नेपालले कतारलाई हराएको थियो।
नेपालका लागि ओपनर कुशल भुर्तेलले सर्वाधिक ८१ तथा आसिफ शेखले ५३ रन बनाए । यी दुई मिलेर पहिलो विकेटका लागि १२७ रनको साझेदारी गरेका थिए ।
दिपेन्द्रसिंह ऐरीले १२ बलमा ३१ रन जोडे। नेपालका लागि सोमपाल कामीले ३ विकेट लिँदा नन्दन यादवले २ तथा ललित राजवंशी र कुशल भुर्तेलले १-१ विकेट हात पारे ।
कुवेतका यासिन पटेलले ४ ओभरमा १७ रन दिएर २ विकेट लिए । मोहम्मद सफीक र मोहम्मद असलमले १-१ विकेट लिए ।खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कुवेतले नेपाललाई १८६ रनको प्रतिस्पर्धात्मक लक्ष्य प्रस्तुत गरेको थियो । कुवेतले २० ओभरमा ७ विकेट गुमाएर १८५ रन बनायो ।
कुवेतका लागि क्लिन्टो एन्टोले सर्वाधिक ४१ रन बनाए । मिट भावसरले ३५ तथा बिलाल ताहिरले ३२ रन बनाए । रविजा सन्दरुवानले २६ रन बनाए ।