समाचार

प्रधानमन्त्रीद्वारा भगवान् महावीरको जन्म दिवसमा शुभकामना

२८ चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तीर्थकङ्र भगवान् महावीरको २६२४औँ जन्मदिवसका अवसरमा शुभकामना दिँदै सबैमा सुख, शान्ति र समृद्धिको कामना गरेका छन् । उनले भनेका छन् “नेपाल जैन परिषद्को आयोजना तथा विभिन्न सङ्घसंस्थाको सहभागितामा महावीरको २६२४औँ जन्मदिवसलाई अहिंसा दिवसका रूपमा मनाउन लागिएको छ । यस अवसरमा खुसी व्यक्त गर्दै सबैमा सुख, शान्ति र समृद्धिको कामना गर्दछु ।”

जैन दर्शन प्राचीन दर्शनमध्ये एक भएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले मानवीय मूल्यमा आधारित दर्शनले व्यक्तिको जन्म र मृत्युको क्रमबाट मुक्त हुनुपर्ने धारणा राख्दै व्यक्ति सांसारिक विषयबाट बन्धनमा रहने र यसबाट मुक्त हुनुपर्ने मान्यता उल्लेख गरेका छन्।

आध्यात्मिक अनुभवमार्फत यसले स्वतन्त्र व्यक्तित्व वा सम्पूर्णता प्राप्त हुने उनको भनाइ छ । “वेदको प्रामाणिकतालाई विश्वास नगरी सांसारिक कर्मबाट मुक्ति र सम्यक प्रषार्थ जैन दर्शनको मौलिक मान्यता हो, संसारमा दुःख रहेको र दुःखको मूल कारण कर्मलाई यस दर्शनले मान्ने गरेको छ”, उनले भनेका छन् । रोग, द्वेष, मोह आदि विकार तत्त्वमाथि विजय प्राप्त गरेर तीर्थकङ्र बन्न सकिने धारणा यस दर्शनमा रहेको उनले उल्लेख गरेका छन्।

सोही अवसरमा गृहमन्त्री रमेश लेखकले पनि तीर्थकङ्र भगवान् महावीर स्वामीको जन्मजयन्ती अवसरमा सम्पूर्ण जैन समुदायलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेका छन्।

भगवान् महावीरले मानव जातिलाई अहिंसा, सत्य, अपरिग्रह, ब्रह्मचर्य र अस्तेयजस्ता उच्च नैतिक आदर्शहरू प्रदान गरेको उल्लेख गर्दै गृहमन्त्री लेखकले भगवान् महावीको मार्गदर्शनले समाजमा शान्ति, सहिष्णुता र सद्भाव फैलाउँदै विश्वशान्तिको स्थापना गर्न महत्त्वपूर्ण योगदान पुर्याएको बताए ।