समाचार

आन्दोलनरत शिक्षक महासङ्घ र सरकारबिच आज साँझ ५ बजे वार्ता हुने 

२८ चैत, काठमाडौँ ।  सरकारले आन्दोलनरत शिक्षक महासङ्घलाई आज साँझ ५ बजे वार्ताको लागी बोलाएको छ। चैत २० गते देखि आन्दोलनमा रहेका शिक्षकहरूलाई शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले वार्ताका लागि बोलाएको हो। 

सरकारले वार्ता र संवादको लागी पटक पटक आह्वान गरे पनि विद्यालय शिक्षा ऐन जारी नहुँदासम्म वार्तामा नबस्ने अडान लिएका थिए। तर उनीहरूले आन्दोलन पनि नछाड्ने र सरकारसँग संवादमा पनि बस्ने निर्णय गरे सँगै आज साँझको लागी वार्ताको समय निश्चित भएको हो। 

शिक्षकहरूको आन्दोलन भने ३ बजे सम्म जारी नै रहने बताइएको छ। 

महासङ्घले सहअध्यक्ष नानुमाया पराजुलीको नेतृत्वमा वार्ता टोली बनाएको छ। आज हुने वार्तामा आफ्ना मागका बारेमा सरकारलाई जानकारी गराउने भएको हो। 

महासङ्घले सरकारलाई विद्यालय शिक्षा ऐन जारी गर्न संसद्को विशेष अधिवेशन बोलाउने, बर्खे अधिवेशन छिटो बोलाउने वा अध्यादेशबाट ऐन जारी गर्न सकिने भन्दै तीन वटा विकल्प अघि सारेको छ।  

शिक्षकहरूको आन्दोलन आज परेको सिमसिमे पानीको बाबजुद पनि जारी छ।