शिक्षा

शिक्षा मन्त्रालय र शिक्षक महासङ्घबीच छलफल, वार्ताको वातावरण बनाउन महासङ्घको मन्त्रालयसँग अनुरोध

२८ चैत, काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र आन्दोलनरत नेपाल शिक्षक महासङ्घबीच आज छलफल भएको छ । हाल भइरहेको शिक्षक आन्दोलनका बारेमा उनीहरुबीच छलफल भएको हो ।

मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाले आज प्रारम्भिक रुपमा शिक्षकसँग आन्दोलनका बारेमा छलफल गरिएको बताए । “आजदेखि हामीले छलफल प्रारम्भ गरेका छौँ । उहाँहरुको चासो, सरोकारका बिषयमा छलफल भयो,” उनले भने, “छलफलबाट नै निष्कर्ष निकाल्ने सहमति भएको छ ।”

प्रवक्ता सापकोटाले छलफललाई निरन्तरता दिने सहमति भएको बताउनुभयो । छलफलमा शिक्षामन्त्री विद्या भट्टराई, शिक्षा सचिव डा दीपक काफ्ले, शिक्षक महासङ्घका सहअध्यक्ष नानुमाया पराजुलीलगायतको टोली सहभागी थियो । शिक्षक महासङ्घले विद्यालय शिक्षा विधेयक जारी गर्न माग गर्दै यही चैत २० गतेदेखि काठमाडौँमा सडक प्रदर्शन गरिरहेको छ । प्रदर्शनमा देशभरिका शिक्षकहरुको सहभागिता रहेको बताइएको छ ।

‘अहिलेको नेपाली शिक्षक-कर्मचारी आफ्ना विगतका सबै सहमति सम्बोधन हुने विद्यालय शिक्षा ऐनको खोजी गर्दै आन्दोलनमा आएका हुन् । अहिलेको अवस्थामा संसद्को वर्षे अधिवेशन तत्कालै सुरु गर्ने, विशेष अधिवेशन आह्वान गर्ने वा अध्यादेश जारी गर्ने मध्ये एउटा विकल्पमार्फत विद्यालय शिक्षा ऐन जारी हुन सक्छ ।’ महासँगले विग्यप्तिमा भनेको छ ।