राजनीति

सभामुख लक्षित ज्ञानेन्द्र शाहीको टिप्पणी: ‘कामकाज एकातिर कुम्लो बोकी ठिमीतिर’ 

२९ चैत, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता तथा सांसद ज्ञानेन्द्र शाहीले सभामुख देवराज घिमिरेले संसद्को अधिवेशन छलेर विदेश भ्रमणमा गएको आरोप लगाएका छन्। आज सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै देशभरिका शिक्षकहरू आन्दोलनमा रहेका बेला संसद्को अधिवेशन अन्त्य गरेर विदेश भ्रमणमा गएको प्रति आक्रोश व्यक्त गरेका हुन। 

‘विद्यालय शिक्षा विधेयक समयमै पास भएन भनेर कैयौँ दिनदेखि देशभरिका शिक्षकहरू सडक आन्दोलनमा छन्।  तर सम्माननीय सभामुख  ज्यु संसद् बन्द गरेर चाँडो -चाँडो अधिवेशन सकेर विदेश भ्रमणमा निस्किनुभयो।’ सांसद शाहीले लेखेका छन्। 

उनले सामान्य पदमा केही सांसदलाई मनोनीत गराएर नालापानी र कालापानीको युद्ध जितेको जस्तो प्रचार गरेको भन्दै सभामुख घिमिरे प्रति कटाक्ष गरेका छन्। उनले सभामुख प्रति लक्षित गर्दै लेखेका छन्,’यसैलाई भन्छन् गनाउने तन्त्र कामकाजहरू एकातिर कुम्लो बोकी ठिमीतिर’ । 

सभामुख घिमिरेको टोली उज्वेकिस्तानको तास्केन्टमा अन्तर-व्यवस्थापिका संघको १५० औँ वार्षिक सभा तथा असंलग्न आन्दोलन संसदीय सञ्जालको चौथो शिखर सम्मेलनमा सहभागी हुन नेपाली प्रतिनिधि सहितको टोली लिएर गएका थिए।