राजनीति

शिक्षक आन्दोलन : महामन्त्री थापाले सरकारलाई दिए यस्ता १५ बुँदे सुझाव…

२९ चैत, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आन्दोलनरत शिक्षकका करिब १५ वटा माग तत्काल सम्बोधन गर्न सरकारलाई आग्रह गरेका छन्।

एक भिडियो सन्देशमार्फत थापाले यी माग मन्त्रिपरिषद् वा मन्त्रालयबाटै हल गर्न सकिने भन्दै विलम्ब नगर्न चेतावनी दिएका हुन्। “स्वास्थ्य, मर्यादा, ग्रेड, सामाजिक सुरक्षा, दरबन्दी मिलान, शिक्षक विद्यार्थी अनुपात, ईसीडी तलब, राहत शिक्षकको अवस्था लगायतका विषयहरू कानुन बिना नै समाधान सम्भव छ,” उनले भने।

सरकारले स्रोत जुटाएर यी विषय आजै सम्बोधन गरे विश्वासको वातावरण बन्ने उनको विश्वास छ। “यसका लागि छुट्टै रूपमा यी मुद्दाहरूलाई सम्बोधन गर्ने कार्य अब ढिला गर्नु हुँदैन,” थापाको भनाइ छ। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विगत दश दिनदेखि आन्दोलनरत शिक्षकका मागलाई संवादका माध्यमबाट सम्बोधन गर्न सरकारसँग आग्रह गरेका हुन् ।

सामाजिक सञ्जालमार्फत महामन्त्री थापाले भने, “शिक्षकका माग सम्बोधन गर्न सरकार जिम्मेवार हुनुपर्छ, आन्दोलनरत शिक्षकलाई कक्षाकोठामा फर्काउन प्रधानमन्त्री र सम्बन्धित मन्त्रीले जिम्मेवारी बोध गर्नुपर्छ ।” शिक्षकको आन्दोलन लम्बिँदै जाँदा शैक्षिक सत्र प्रभावित हुने उल्लेख गर्दै उहाँले जतिसक्दो चाँडो मन्त्रिपरिषद्को बैठक राखेर उनीहरुको माग सम्बोधन गर्न उनले सरकारसँग आग्रह गरे।

“पछिल्लो समयमा शिक्षकले राखेका कतिपय माग कानुन नबनाइ हल गर्न सकिन्न, शिक्षकको मर्यादाक्रम, स्वास्थ्य उपचार, दरबन्दी मिलान, विद्यालय कर्माचारीका कुरा, राहतको बिदा सञ्चितिजस्ता विषय हामीले गर्नैपर्छ”, महामन्त्री थापाले भने । कानुन निर्माणको विषयमा सरकारले चाँडै संसद अधिवेशन बोलाउनुपर्ने उलको भनाइ थियो ।

विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने, अस्थायी प्रकृतिका शिक्षक, विद्यालय कर्मचारी, बालकक्षाका शिक्षक, स्थायी शिक्षकको बढुवा, तलब र ग्रेड वृद्धि, स्थायी आन्तरिक प्रतिस्पर्धा, निवृत्तिभरण व्यवस्था, अस्थायी सेवा अवधिको गणना, माथिल्लो तहमा स्थायी हुँदा पाउने तलब लगायतका मागसहित यही चैत २० गतेदेखि शिक्षकहरु आन्दोलनरत छन् ।