राजनीति

प्रधानमन्त्री ओलीले बुटवल पुगेर भने: शिक्षकहरूले आफ्नो स्वार्थ मात्र हेरेर गरिएको आन्दोलनको माग पुरा हुँदैन  

२९ चैत, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आन्दोलनरत शिक्षकहरूले आफ्नो स्वार्थ मात्र हेरेर सडक आन्दोलनमा उत्रेको आरोप लगाएका छन्। 

आज बुटवलमा एमालेले आयोजना गरेको  जागरण अभियान कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले राष्ट्रहित र देशको आर्थिक अवस्थालाई नहेरी सडकमा आएको बताएका हुन्। शिक्षा क्षेत्रमा समस्या भए पनि तत्काल सडकमा आन्दोलन नै गर्नु पर्ने अवस्था नभएको उनले बताए। 

प्रधानमन्त्री ओलीले आन्दोलनरत शिक्षकहरूलाई विद्यालय शिक्षा ऐन छिटै आउने भन्दै भावनामा नबग्न आग्रह गरेका छन् ।

शिक्षक महासङ्घको आह्वानमा १० दिन देखि  देशैभरका शिक्षकहरू सडक आन्दोलन गरिरहेका छन्। विद्यालय शिक्षा ऐन जारी गर्नु पर्ने माग राख्दै  चैत २५ गते देखि शैक्षिक हड्ताल समेत घोषणा गरेका छन्। 

फरक प्रसङ्गमा उनले प्रधानमन्त्री र एमालेलाई बिभिन्न प्रविधि मार्फत बदनाम गराउने गिरोह सक्रिय भएको भन्दै यस विरुद्ध लाग्न कार्यकर्तालाई निर्देशन दिएका छन्।