समाचार

आन्दोलनरत शिक्षकको माग दुई तरिकाले सम्बोधन गर्न सकिन्छ भन्दै महामन्त्री थापाले दिए सरकारलाई सुझाव 

३० चैत, काठमाडौँ ।  नेपाली काँग्रेसका महामन्त्री गगन थापाले आन्दोलनमा रहेका शिक्षकहरूमा माग तत्काल सम्बोधन गरेर विद्यालय फर्काउनु पर्ने बताएका छन्।  आज शनिवार सामाजिक सञ्जाल फेसबुकमा एक भिडियो सन्देश जारी गर्दै उनले कानुन नबनाई शिक्षकहरूको माग पुरा गर्न सकिने बताएका हुन्। 

उनले शिक्षक आन्दोलनले दीर्घकालीन असर पर्न सक्ने भन्दै कम नआँक्न सबैलाई सचेत गराएका हुन्। अहिले आन्दोलन हल्का लागेपनि यसले लामो समयसम्म नेपालको सार्वजनिक शिक्षाको क्षेत्रलाई प्रभाव पार्न सक्नेतर्फ ध्यान दिन र अझ बढी जिम्मेवार बन्न सरकारलाई आग्रह गरेका छन्। 

महामन्त्री थापाले शिक्षकहरूको माग दुई चरणमा हल गर्न सकिने भन्दै सरकारलाई सुझाव दिएका हुन । उनका अनुसार पहिलो कानुन नबनाई मन्त्रीपरिषद्ले निर्णय गरेर हाल गर्न सकिने छ। शिक्षकहरूको मर्यादा क्रम, स्वास्थ्य उपचार,सामाजिक सुरक्षाका विषय देखि दरबन्दी मिलान लगायतका विषयलाई आजै मन्त्रीपरिषद्को निर्णयबाट र सम्बन्धित मन्त्रालयबाट निर्णय गरेर हल गर्न सकिने बताए। उनले सरकारले तत्काल यी विषयमा निर्णय गरेमा विश्वासको वातावरण बन्ने विश्वास व्यक्त गरे। 

त्यस्तै, महामन्त्री थापाले केही विषय संसद्ले निर्णय गरेर कानुन बनाउनु पर्ने बताए। उनले केही समयपछि सुरु हुने संसद्को बैठकमा शिक्षकको माग सम्बोधन गर्ने गरी मिति तोकेर जान सकिने धारणा राखेका छन्। उनले शिक्षक महासंघसँग विगतमा भएका सम्झौतालाई समेत समेटेर विधेयकको टुंगो लगाउनु पर्ने बताए। 

 यी सबै विषयहरूमा सहमति गर्नको लागी पहिला विश्वासको वातावरण बनाउनु पर्ने महामन्त्री थापाको भनाइ छ।