३० चैत, काठमाडौँ । चैत २० गते देखि आन्दोलनमा रहेका शिक्षकहरूले आज पनि माइतीघर बबरमहल क्षेत्रमा प्रदर्शन गरेका छन्। विद्यालय शिक्षा ऐन तत्काल जारी गर्नु पर्ने भन्दै सरकारलाई दबाब दिन आज पनि आन्दोलनमा उत्रेका हुन्।
आज सडक पुरै जाम हुने गरी सडकमै बसेर विरोध प्रदर्शन गरेका हुन्। सरकारसँग वार्तामा बसे पनि कुनै सहमती हुन नसकेको भन्दै शिक्षक महासङ्घले आन्दोलनलाई निरन्तरता दिएको हो।
सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले भने शिक्षकहरूको माग सामान्य माग रहेको भन्दै आन्दोलन गरिरहन नपर्ने प्रतिक्रिया दिंदै आएका छन्। यता शिक्षकहरूले भने एसइईको उत्तर पुस्तिका जाँच नगरी आम शैक्षिक हड्ताल घोषणा गरेर सडक प्रदर्शन गरिरहेका छन्।
आफूहरूले राखेको माग पुरा नहुँदासम्म आन्दोलन नरोक्ने शिक्षक महासङ्घको अडान कायमै रहेको छ। उनीहरूले यो आन्दोलन अन्तिम र निर्णायक भनेका छन्।