शिक्षा

शिक्षक आन्दोलन चर्कँदा विधेयक छलफल तिव्र

३० चैत, काठमाडौँ । शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिको उपसमितिले विद्यालय शिक्षा विधेयकमाथिको दफावार छलफल तीव्र बनाएको छ। सिंहदरबारमा आज पनि बैठक जारी रहँदा शिक्षक आन्दोलनको चर्को आवाजसँगै उपसमिति सक्रिय देखिएको छ।

मन्त्री विद्या भट्टराई, संयोजक छविलाल विश्वकर्मा र मन्त्रालयको टोली विधेयकको काम गरिरहेका छन्। हालसम्म निजी विद्यालय र शिक्षकबाहेकका विषयमा सहमति जुटिसकेको छ भने शिक्षकका बुँदा ‘होल्ड’मा राखिएको छ।

१,७५८ संशोधन, ७ वटै प्रदेशको सुझाव र विज्ञको रायसहित छलफल भइरहेको छ। शिक्षक महासंघसँगको सहमतिपछि मात्र शिक्षकसम्बन्धी धाराहरूमा निर्णय हुने बताइएको छ।

यद्यपि उपसमितिले सहमत भएका बुँदा अझै सार्वजनिक गरिएका छैनन्।