राजनीति

धनकुटा पुगेर महामन्त्री थापाले भने: काँग्रेसको अभिभावकीय भूमिकामा संविधान बन्यो,अब संशोधन पनि काँग्रेसकै नेतृत्वमा गर्नुपर्छ 

३० चैत, धनकुटा। नेपाली काँग्रेसका महामन्त्री गगन थापाले काँग्रेसको नेतृत्वमा बनेको संविधानलाई संशोधन गरेर जानु पर्ने धारणा राखेका छन्। उनले आज धनकुटामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै काँग्रेसकै नेतृत्वमा गणतन्त्र आएको र संविधान पनि बनेको बताएका हुन् । 

उनले ७२ सालमा जारी भएको संविधानमा धेरै विषयहरू समावेश भएका र त्यस मध्य धेरैलाई संशोधन गर्दै प्रभावकारी बनाउनु पर्ने बताए। महामन्त्री थापाले नेपालको निर्वाचन प्रणालीमा सुधार संविधान संशोधन गर्नु पर्ने बताएका छन्। ८४ सालमा हुने आम निर्वाचन संविधान संशोधन गरेर मात्रै गर्नु पर्नेमा उनले जोड दिए। 

 देशको उपराष्ट्रपतिलाई अझ प्रभावकारी र जिम्मेवार बनाउन पनि संविधान संशोधन जरुरी रहेको महामन्त्री थापाको भनाइ छ। 

नेपाली काँग्रेस देशको प्रमुख जिम्मेवार पार्टी भएको हिसाबले पनि पार्टीको ठुला जिम्मेवारी रहेको उनको दाबी छ। संविधान बनाउने बेला तत्कालीन सभापति सुशील कोइरालाले माओवादीलाई पनि समेटेर जानुपर्छ भनेर राष्ट्रिय भूमिका निर्वाह गरेको कुरा स्मरण गर्दै थापाले नेपाली काँग्रेसले अभिभावकीय भूमिका खेलेको कारण देशमा संविधान घोषणा भएको बताए।