शिक्षा

त्रिवि सेवा आयोगको उपप्राध्यापक परीक्षाको नतिजा: सात सय ६७ जना परीक्षार्थीमध्ये ५८ जना मात्रै उत्तीर्ण

 ३१ चैत, काठमाडौँ। त्रिभुवन विश्वविद्यालय सेवा आयोग कार्यालयले लिएको विभिन्न विषयको परीक्षाको नतिजा सार्वजनिक गरेको छ। आयोगले २०८१ भदौ र असोजमा कृषि तथा पशु विज्ञान अध्ययन संस्थान वन विज्ञान अध्ययन संस्थान र विज्ञान तथा प्रविधि अध्ययन संस्थान अन्तर्गतका ३१ वटा विषयमा लिएको उपप्राध्यापकहरूको परीक्षाको नतिजा हिजो सार्वजनिक भएको हो। 

आयोगले खुलाएको उपप्राध्यापक पदको लागी १६८ जनाको माग भएको थियो भने ७६७ जना परीक्षामा सहभागी भएका थिए। सहभागी परीक्षार्थीमध्ये जम्मा ५८ जना मात्रै उत्तीर्ण भएका छन्।  

प्रकाशित नजिता अन्त्यतै निराशाजनक रहेको पाइएको छ। आयोगले मागेको सङ्ख्या भन्दा अत्यन्तै कम सङ्ख्यामा पास भएका छन् भने कतिपय विषयमा शून्य नतिजा आएको छ। 

पशु पोषण विषयमा एक जना उपप्राध्यापकको लागी चार जनाले परीक्षा दिँदा कोही पनि उत्तीर्ण भएनन् भने दुग्ध विज्ञान विषयमा दुई जनाले परीक्षा दिए  कसैले पनि पास गर्न सकेनन् । त्यस्तै फरेस्ट्री विषयमा एक जना उपप्राध्यापकको लागी चार जना परीक्षामा सहभागी भए पनि यसमा पनि शून्य नजिता आएको छ । डाइटेटिक्स विषयमा एक जना उपप्राध्यापकको माग हुँदा एक जनाले नै परीक्षा दिएकोमा पनि उत्तीर्ण भएनन् । त्यस्तै बायोकेमेस्ट्री विषयमा दुई जना उपप्राध्यापकको लागी पाँच जनाले परीक्षा दिँदा यसमा पनि शून्य नतिजा आएको हो। 

यता कम्प्युटर विज्ञान विषयमा २० जना उपप्राध्यापकको लागी ३८ जनाले परीक्षा दिएका थिए ,जसमध्ये ५ जना मात्रै उत्तीर्ण भएका छन्। १५ जनाको कोटा अझै खाली रहेको छ। खाद्य प्रविधि विषयमा तीन जनाको कोटामा पाँच जनाले परीक्षा दिएकामध्ये एक जनाले मात्र नाम निकालेका छन्। 

गणित विषयमा २० जना प्राध्यापकको माग भएको थियो भने १०४ जनाले परीक्षा दिएकोमा दुई जना मात्रै पास भएका छन्। तथ्याङ्क शास्त्र विषयमा १५ जना उपप्राध्यापकको लागी  ३६ जनाले परीक्षा दिएका थिए, ती मध्ये दुई जना मात्र उत्तीर्ण भए । प्राणीशास्त्र विषयमा  २० जना उपप्राध्यापकको लागी ५९ ले परीक्षा दिए पनि १४ जना मात्र उत्तीर्ण भए। 

फिजिक्स विषयमा २५ जनाको माग हुँदा १७५ जनाले परीक्षा दिएकोमा तीन जना मात्र सफल बने।  फिजिक्स विषयमा सबैभन्दा धेरैको आवेदन परेको थियो। त्यस्तै केमेस्ट्री विषयमा २४ जना उपप्राध्यापकको माग हुँदा १२८ जना परीक्षामा सहभागी बने पनि ११ जना मात्र उत्तीर्ण भएका छन्।