राजनीति

पूर्वराष्ट्रपति भण्डारीको प्रश्नः एमालेमा जननेता मदनको विचार अनुरूप अघि बढ्न कसैले अवरोध त पैदा गरिरहेको छैन ?

१ वैशाख, काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकको समृद्धि, स्थायित्व र सामाजिक–आर्थिक रूपान्तरणका लागि साझा प्रतिबद्धता आवश्यक रहेको बताएकी छन्।

नयाँ वर्षको शुभकामना सन्देशमार्फत उनले विगतका संघर्ष र बलिदानीबाट प्राप्त उपलब्धिहरूको रक्षा गर्दै देशलाई समृद्ध र आत्मनिर्भर बनाउने मार्गमा दृढताका साथ अघि बढ्न सबैलाई आह्वान गरेकी हुन्।

भण्डारीले नेपालमा सामाजिक न्याय र समानतामा आधारित मौलिक विचारको खाँचो रहेको उल्लेख गर्दै अब त्यस्तो सिद्धान्त बहुदलीय जनवादको रूपमा प्राप्त भइसकेको बताइन्। उनले भनिन्, “अबको बाटो यही सिद्धान्तको प्रभावकारी कार्यान्वयनबाट मात्रै समृद्ध नेपाल बनाउनु सम्भव छ।”

पूर्वराष्ट्रपतिले बेरोजगारी, युवाको पलायन, कृषि र उद्योगको अवरोध, तथा सुशासनको कमीप्रति गम्भीर चिन्ता व्यक्त गर्दै विगतका कमजोरीबाट पाठ सिकेर नयाँ सङ्कल्पका साथ विकास प्रक्रियालाई तीव्रता दिनुपर्नेमा जोड दिइन्।

उनले जननेता मदन भण्डारीको सपना र विचारलाई आत्मसात गर्दै मुलुकको राजनीतिक, सामाजिक तथा आर्थिक परिवर्तनमा इमान्दार प्रयासको खाँचो औँल्याइन्।

“राष्ट्रहितभन्दा ठूलो केही छैन,” पूर्वराष्ट्रपतिले स्पष्ट पार्दै भनिन्, “देशले दिनसक्ने सबै अवसर हामीलाई दिइसकेको छ, अब हामीले देशका नाममा समर्पण गर्नुपर्छ।”

०८२ सालको शुभकामना सन्देश जारी गर्दै उनले भनेकी छन् :


राष्ट्रियता सुदृढीकरण, अग्रगमन र जनसमस्याको समाधानको नाममा हामीले पटक–पटक व्यवस्था र संविधान बदल्यौँ तर अवस्था बदल्ने हाम्रो सपना अझै पूरा हुन सकिरहेको छैन । सामाजिक–आर्थिक रूपान्तरण प्रक्रियाले तीव्रता पाउन सकेको छैन । अनेक राजनीतिक विकल्पहरूको अभ्यासपछि पनि जनतामा चरम निराशा छाउने स्थिति किन उत्पन्न भयो ? सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापनापछि देशको कायापलट हुने विश्वास हामीले जनतालाई दिलाएका हौँ, खोजेको व्यवस्था प्राप्त भएपछि पनि जनताको जीवनस्तरमा आशातीत परिवर्तन किन हुन सकिरहेको छैन ? यस्ता प्रश्नहरूमा अब चिन्तामात्र प्रकट गरेर जनताको सहानुभूति बटुल्न खोज्नुभन्दा निर्मम आत्मसमीक्षा गर्दै फेरि पनि निरन्तर इमान्दार प्रयास गर्नुको विकल्प छैन । यस दिशामा सम्बद्ध सबैको ध्यान जाओस् ।

हाम्रो देशमा यहीँ विकसित भएको मौलिक विचारको खाँचो थियो–जसले मुलुकलाई सामाजिक न्याय र समानतामा आधारित समुन्नत समाज बनाउन मार्गदर्शन गर्न सकोस् । अब त्यो सिद्धान्त हामीले पाइसकेका छौँ । यस प्रगतिशील सिद्धान्तको प्रभावकारी कार्यान्वयन गरी देश विकास गर्नुको विकल्प छैन । यो देशको सामाजिक–आर्थिक रूपान्तरणको मौलिक सिद्धान्त जनताको बहुदलीय जनवादका प्रणेता जननेता मदन भण्डारीको सपना आफ्ना सहकर्मी सहयात्रीहरूलाई राज्यसत्तासम्म पु¥याउने इच्छामा मात्र सीमित थिएन, बरु यस सिद्धान्तलाई कार्यान्वयन गर्दै जनताको जीवनस्तर बदल्ने र राष्ट्रको गौरव बढाउने थियो । बहुदलीयता र बहुलवादलाई आत्मसात् गरी सक्रियता, पहलकदमी, जनसेवा र प्रतिस्पर्धामा श्रेष्ठता हासिल गर्दै अरू राजनीतिक शक्तिहरूलाई समेत मुलुकका साझा विषयमा अग्रसर र गतिशील बनाउने नै जननेताको चाहना हो । मदनको विचार र भावनाअनुरूप अगाडि बढ्न हामीलाई कसैले कतैबाट अवरोध त पैदा गरिरहेको छैन ? यस प्रश्नमा आत्मचिन्तन गर्ने समय आएको छ । मदन भण्डारीले देश र जनतालाई केन्द्रविन्दुमा राखेर धारणा बनाउने गर्नुहुन्थ्यो । निजी स्वार्थ, लोभ र महत्वाकाङ्क्षाभन्दा माथि नउठेसम्म जनआकाङ्क्षालाई सम्बोधन गर्ने चेत, इमानदारिता र दृढ मनोबल उत्पन्न हुन नसक्ने उहाँको ठम्याइ थियो । त्यसैले, हामी सबैले जननेताको सपना पूरा गर्ने अठोट फेरि एकपटक दोहो¥याउनुपर्ने बेला भएको छ । नेपालको राजनीतिक आन्दोलन र सामाजिक–आर्थिक रूपान्तरणको अभियानमा ऐतिहासिक भूमिका निर्वाह गरी अपार जनविश्वास आर्जन गर्न सफल बनिसकेको जननेताको विरासत बोकेको पार्टी नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले राज्यप्रतिको विश्वास र भरोसा थप अभिवृद्धि गर्न ढिला नगरी ठोस कार्ययोजना अघि सारेर त्यसको कार्यान्वयनमा तदारुकता देखाउनु पर्दछ ।